रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशुलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेर काम गरेकोमा प्रशंसा गरेको छ। विपद्को यस घडीमा नाडा सरकार र नागरिकको साथमा रहेको जनाएको छ।

रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै नाडाले नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सामान र सवारीसाधन भन्सार क्षेत्रमा रहेकाले भएको क्षतिको यकिन तथ्यांक हालसम्म प्राप्त नभएको जनाएको छ। नाडाले विपद्बाट प्रभावित सबै व्यवसायीको साथमा रहेकोसमेत स्पष्ट पारेको छ।

बाढीका कारण सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले त्यसको प्रत्यक्ष प्रभाव सवारीसाधन आयात तथा समग्र आपूर्ति व्यवस्थामा पर्न सक्ने भन्दै नाडाले घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न सरकारसँग आग्रह गरेको छ।

नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गरी सुरक्षित आवागमन सञ्चालनको वातावरण बनाउन तथा रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, बाढीका कारण सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडाले सरकारसँग अनुरोध गरेको छ।

क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा मूल्यांकन, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने नाडाको धारणा छ।

विपद्को कठिन अवस्थामा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको नाडाले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न नाडा तयार रहेकोसमेत जनाएको छ।

नाडाले प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिक तथा व्यवसायीको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।

प्रकाशित : 26 August, 2026 5:23 pm