अर्थतन्त्रको पुनर्संरचना नगरी आर्थिक लक्ष्य हासिल हुँदैन : अन्जन श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अर्थतन्त्रको पुनर्संरचना नगरी आर्थिक लक्ष्य हासिल हुँदैन : अन्जन श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले मुलुकले तय गरेका आर्थिक लक्ष्य हासिल गर्न विद्यमान आर्थिक संरचनामै सुधार गर्दै अर्थतन्त्रको ‘पुनर्संरचना’ गर्नुपर्ने बताएका छन्।

नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने सरकारको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसका लागि राज्यको आर्थिक नीति र निजी क्षेत्रप्रतिको दृष्टिकोणमा आधारभूत परिवर्तन आवश्यक रहेको बताए।

उनले ठूलो राजस्व योगदान गर्ने अटोमोबाइल क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे।

‘गत वर्ष करिब १ खर्ब ६ अर्बको आयात हुँदा यो क्षेत्रले ८१–८२ अर्ब राजस्व योगदान गरेको छ। यति ठूलो योगदान दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ,’ उनले भने।

अध्यक्ष श्रेष्ठले सरकारको औद्योगिक नीतिमा देखिएको विरोधाभासप्रति समेत प्रश्न उठाए। नयाँ उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने तर सञ्चालनमा आइसकेका उद्योगका समस्या समाधानमा बेवास्ता गर्ने प्रवृत्तिले निजी क्षेत्रको लगानीमा निरुत्साहन पैदा गर्ने उनको भनाइ थियो।

‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईंहरूले यहीँ उद्योग खोल्नुस्, हामी सहुलियत दिन्छौं’ भन्नुभएको थियो,’ उनले भने, ‘तर अहिले उद्योगहरू खुलेका छन्, तिनको अवस्था के छ? सरकारले कहिल्यै चासो दिएको छैन।’

सरकारले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखिरहेका बेला अहिले सञ्चालनमा रहेका तथा निजी क्षेत्रको ठूलो लगानी भइसकेका उद्योगको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने श्रेष्ठले बताए।

‘बुढापाकाले भन्थे नि, ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला’ भन्नेमा सरकार सचेत हुनुपर्छ,’ उनले भने, ‘नयाँ उद्योग खोल्ने कुरा गर्दा भइरहेका उद्योग धराशायी नहोउन् भन्नेमा ध्यान दिनु आवश्यक छ।’
अटोमोबाइल क्षेत्रमा लगानी गरेका उद्योगी तथा व्यवसायीले भोगिरहेका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने उनको आग्रह थियो। उद्योग स्थापना गर्न प्रोत्साहन गरेर मात्र नपुग्ने भन्दै लगानी गरेका उद्योगलाई प्रतिस्पर्धी, उत्पादनशील र दीर्घकालीन रूपमा सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

श्रेष्ठले निजी क्षेत्रको लगानी सुरक्षित र व्यावसायिक वातावरण सुनिश्चित नभएसम्म मुलुकले दिगो आर्थिक वृद्धि हासिल गर्न नसक्ने धारणा राखे। राज्यको नीति लगानीमैत्री, स्थिर र पूर्वानुमानयोग्य हुनुपर्ने भन्दै उनले अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार अर्थतन्त्रको पुनर्संरचना भनेको केवल नयाँ उद्योग स्थापना गर्नु मात्र नभई सञ्चालनमा रहेका उद्योगको संरक्षण, उत्पादन वृद्धि, लगानी सुरक्षा, नीतिगत स्थिरता र निजी क्षेत्रको मनोबल अभिवृद्धिलाई समेत समेट्ने विषय हो।

प्रकाशित : 25 August, 2026 10:58 am