काठमाडौं। निर्जीवन बीमा क्षेत्रमा फागुन मसान्तसम्म उल्लेखनीय प्रगति देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गरी कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन्।
यस अवधिमा बजार अग्रता कायम राख्दै शिखर इन्स्योरेन्स शीर्ष स्थानमा उक्लिएको छ। कम्पनीले एक्लैले ४ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेको हो। त्यसैगरी सगरमाथा इन्स्योरेन्स ३ अर्ब ३६ करोड रुपैयाँसहित दोस्रो स्थानमा रहँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब २० करोड रुपैयाँसहित तेस्रो स्थानमा देखिएको छ।
मध्यम समूहका कम्पनीहरूमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले २ अर्ब ७९ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड र नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै अन्य कम्पनीहरूको प्रदर्शन तुलनात्मक रूपमा कमजोर देखिएको छ। युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड र प्रभु इन्स्योरेन्स ले १ अर्ब २१ करोड रुपैयाँ संकलन गरेका छन्।
सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स रहेका छन्। जसले क्रमशः १ अर्ब ६ करोड र ८६ करोड रुपैयाँ मात्र आर्जन गरेका छन्।






Comment