महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठी र बीउ बोका वितरण । « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठी र बीउ बोका वितरण ।



वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठापाठी वितरण गरिएको छ । स्थानीय कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।

महिला सदस्यहरुलाई बीउ पाठी वितरण गदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानमा पालिका लागि परेको जानकारी दिइन् । उनले भनिन,“साना किसान तथा महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानका साथ नगरपालिकाले काम गरिरहेको छ ।”

सो अवसरमा उपप्रमुख तिवारीले स्थानीय उत्पादनको बजारीकरणका लागि पैचो कार्यक्रम सञ्चालन गर्न लागिको बताइन । १४ वटै वडाका कृषकले उत्पादन गरेका बस्तुलाई सहज रुपमा बजार सम्म पुर्याउने पालिकाको योजना रहेको उनको भनाइ छ । गाउँगाउँमा उत्पादन भएका सामाग्रीहरुको सहज बजारीकरण पश्चात उत्पादन बढ्ने तिवारीको विश्वास छ ।

कार्यक्रममा बोल्र्दै वडा नं.११ का वडाअध्यक्ष डण्डपानी पंगेनीले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको जानकारी दिए । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उनको भनाइ छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको पंगेनीले बताए ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उनको भनाइ छ ।

कार्यक्रम अन्तरगत कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाका कर्मचारी सुस्मिता पौड्यालले जानकारी दिए।

वालिङ नगरपालिकाको वडा नं.१ देखि १४ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

प्रकाशित : 18 March, 2026 11:28 am