उद्योग संगठन मोरङले इण्डष्ट्रिज एक्स्पिरियन्स जोन सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग संगठन मोरङले इण्डष्ट्रिज एक्स्पिरियन्स जोन सञ्चालनमा



विराटनगर । उद्योग संगठन मोरङले उद्योग प्रवर्द्धन, नवप्रवर्तन र बजार विस्तारलाई लक्षित गर्दै इन्डस्ट्रिज एक्स्पिरियन्स जोन सञ्चालनमा ल्याएको छ ।

उद्योग विभाग का महानिर्देशक जितेन्द्र बस्नेत र विभागकी निर्देशक विष्णुमाया भट्टराई सहितको प्रतिनिधिमण्डलले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको इन्डस्ट्रिज एक्स्पिरियन्स जोन, बिजनेस इन्क्युबेसन सेन्टर तथा भर्चुअल प्लेटफर्म ‘विराटबजार डटकम’को अवलोकन गरेको छ ।

अवलोकनका क्रममा प्रतिनिधिमण्डलले संगठनका यी तीनै प्लेटफर्मले उद्योगहरूको प्रवर्द्धन, नवप्रवर्तनको प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रशंसा गरेका छन् ।

अवलोकनपछि उद्योग विभागका महानिर्देशक बस्नेतले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएका तीनवटै प्लेटफर्मले व्यावसायिक विकासको एकीकृत ‘इकोसिस्टम’ प्रस्तुत गरेको उल्लेख गरे । सबै सरोकारवालाले एकपटक अवलोकन गरी यसबाट लाभ लिनुपर्ने धारणा व्यक्त गर्दै उनले भर्चुअल प्लेटफर्म विराटबजार डटकमलाई प्रतिनिधित्व गर्ने गरी उद्योगको वस्तुस्थिति भौतिक रूपमा बुझ्न एक्स्पिरियन्स जोनले थप सहयोग पुर्‍याएको बताए । उनले उद्योग प्रवर्द्धनका लागि नेपालमै पहिलो नवीन र प्रभावकारी पहल भएको टिप्पणी गरे ।

महानिर्देशक बस्नेतका अनुसार संगठनले प्रारम्भ गरेका यी प्लेटफर्महरूले स्वदेशी उत्पादनको दृश्यता बढाउन, उद्यमी र लगानीकर्ताबीच सहकार्य विस्तार गर्न, औद्योगिक विकासलाई गति दिन तथा व्यवसाय–व्यवसायबीचको साझेदारीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी उद्योग विभागकी निर्देशक भट्टराईले समग्र प्लेटफर्मले उद्योग क्षेत्रका उपलब्धि र सम्भावनालाई प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको उल्लेख गरिन् । उद्योग क्षेत्रलाई नजिकबाट बुझ्न, सिक्न र सहकार्यको आधार तयार गर्न यो महत्वपूर्ण मञ्च भएको उनको भनाइ छ । संगठनको यस पहलले नेपाली उत्पादनहरूको बजार पहुँच सुदृढ बनाउँदै औद्योगिक विकास, नवप्रवर्तन र उद्यमशीलतालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी ले संगठनले स्थापना दिवसको अवसरमा सञ्चालनमा ल्याएको इन्डस्ट्रिज एक्स्पिरियन्स जोन, भर्चुअल प्लेटफर्म विराटबजार डटकम र बिजनेस इन्क्युबेसन सेन्टर आफैंमा एक इकोसिस्टम भएको बताए । बी–टु–बी प्रवर्द्धन, बजार सञ्जाल विस्तार, सिकाइ तथा साझेदारी निर्माणका लागि यी सबै प्लेटफर्म स्थायी मञ्चका रूपमा विकास गरिएको उनको भनाइ छ ।

अध्यक्ष राठीका अनुसार एक्स्पिरियन्स जोनमा उद्योगका उत्पादन, कम्पनी प्रोफाइल, कार्यस्थलसम्बन्धी जानकारी, सम्भावित साझेदार, पेशा तथा सीपसम्बन्धी विवरण अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । भिआर प्रविधिको प्रयोगमार्फत उद्योगहरूको भर्चुअल अवलोकन गर्न सकिने भएकाले आधुनिक प्रविधिद्वारा उद्योग प्रस्तुतिलाई अझ प्रभावकारी बनाइएको उनले बताए ।

उद्योग संगठन मोरङले सञ्चालन गरेको भर्चुअल प्लेटफर्म र एक्स्पिरियन्स जोनमा उद्योग प्रतिष्ठानका उत्पादन, नवप्रवर्तनशील स्टार्टअप, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू समेटिएको छ । उद्योगका उत्पादनलाई एकै स्थानमा समेटी स्थायी प्रदर्शनी स्थलका रूपमा विकास गरिएको यस पहलले उत्पादनदेखि प्रविधि, सीपदेखि साझेदारीसम्मको प्रत्यक्ष अनुभव प्राप्त गर्न सकिने व्यवस्था गरेको संगठनले जनाएको छ ।

प्रकाशित : 13 February, 2026 5:41 pm