काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पछिल्ला केही महिनादेखि निरन्तर रूपमा ब्याजदर घटाउँदै आएका बैंकहरूले फागुनमा पनि सो प्रवृत्तिलाई निरन्तरता दिएका छन्।
माघ महिनाको तुलनामा फागुनका लागि करिब आधाजसो वाणिज्य बैंकहरूले व्यक्तिगत र संस्थागत दुवै निक्षेपतर्फ अधिकतम ब्याजदर घटाएका छन्। यसले बैंकिङ प्रणालीमा ब्याजदर घट्दो क्रममा रहेको संकेत गरेको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा घटेर ४.५६ प्रतिशतमा झरेको छ। माघमा यो दर ४.६८ प्रतिशत थियो। समीक्षा अवधिमा औसतमा ०.११५ प्रतिशत बिन्दुले कमी आएको देखिन्छ। ९ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएपछि समग्र औसत दर घट्न पुगेको हो।
संस्थागत मुद्दति निक्षेपतर्फ पनि औसत अधिकतम ब्याजदर ३.३८ प्रतिशतबाट घटेर ३.३३ प्रतिशतमा सीमित भएको छ। यस अवधिमा औसतमा ०.०५१ प्रतिशत बिन्दुले कमी आएको हो।
फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउने बैंकमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ०.७५ प्रतिशत बिन्दुले दर घटाएको छ। माघमा ५.५ प्रतिशत रहेको सो बैंकको अधिकतम ब्याजदर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ। बाँकी ११ बैंकहरूले भने माघकै दरलाई निरन्तरता दिएका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर नेपाल बैंकले ५.१ प्रतिशत प्रदान गर्ने भएको छ। सबैभन्दा कम अधिकतम ब्याजदर ४.२५ प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले निर्धारण गरेका छन्।
संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरिएको छ। हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले उक्त दरमा ब्याज दिने घोषणा गरेका छन्।
विश्लेषकहरूका अनुसार बैंकिङ प्रणालीमा तरलता सहज हुनु, कर्जा माग अपेक्षाकृत कमजोर रहनु तथा नेपाल राष्ट्र बैंकको नीतिगत सहजताले ब्याजदर घट्न सहयोग गरेको हो। ब्याजदर घट्दा कर्जाग्राहीलाई राहत मिल्ने भए पनि निक्षेपकर्ताको प्रतिफल भने थप घट्ने देखिएको छ।
समग्रमा वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्दो ट्रेन्डमा देखिएको छ, जसले आगामी महिनाहरूमा पनि दर दबाबमै रहने संकेत गरेको छ।





Comment