रुपन्देही । रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा २०७५ सालदेखि सञ्चालनमा रहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नति गर्दै पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। विगत तीन वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन हुँदै आएको रिसोर्टले अन्तर्राष्ट्रिय ब्रान्ड म्यारियट रिसोर्ट एन्ड स्पा ९ःबचचष्यतत च्भकयचत ७ क्उब० को ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्न लागेको हो।
यो म्यारियट इन्टरनेशनलको काठमाडौँ उपत्यकाबाहिरको पहिलो र एकमात्र उपस्थिति हुने रिसोर्ट हो। यसका लागि लुम्बिनी प्यालेस रिसोर्ट र म्यारियट इन्टरनेशनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा रिसोर्टका अध्यक्ष दीपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपानेसहितका सञ्चालक तथा उच्च पदाधिकारीहरू र म्यारियट इन्टरनेशनलको तर्फबाट एशिया–प्यासिफिक क्षेत्र हेर्ने प्रमुख सञ्चालन अधिकृतसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
रिसोर्टले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पाँचतारे होटल सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ। पूर्ण सञ्चालनमा आएपछि यो रिसोर्ट नेपालकै पहिलो र एकमात्र ‘नेचर रिसोर्ट’ को रूपमा स्थापित हुने दाबी गरिएको छ।
रिसोर्टमा अत्याधुनिक र उच्च प्रविधियुक्त वेलनेस सेन्टर, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर, मल्टिपल रेस्टुरेन्ट, लक्जरी सुइट, कन्फ्रेन्स हल, बैंक्वेट हल लगायतका सुविधा रहनेछन्। साथै, वातावरणमैत्री अवधारणाअन्तर्गत ऊर्जा बचत, न्यून प्रदूषण र दिगो विकासमा आधारित ग्रीन सर्टिफिकेसन सहित सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
यसैगरी रिसोर्टलाई नेपालको पहिलो इको–लक्जरी रिसोर्ट को रूपमा विकास गर्ने योजना रहेको छ। खेल पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारसहित स्पोर्ट्स टुरिज्म रिसोर्ट को अवधारणा पनि समावेश गरिएको छ।
लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै बुद्ध दर्शन, स्थानीय कला, संस्कृति र नेपाली पहिचान झल्किने संरचना र सेवाहरू प्रदान गरिने रिसोर्टले जनाएको छ।
पूर्ण सञ्चालनपछि अन्तर्राष्ट्रिय सम्मेलन, विवाह समारोह, लक्जरी ट्राभल, वेलनेस टुरिज्म तथा व्यवसायिक कार्यक्रमका लागि नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छ।
रिसोर्ट व्यवस्थापनका लागि २७ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय होटल व्यवस्थापन अनुभव भएका विज्ञलाई प्रमुख कार्यकारी व्यवस्थापन पदमा नियुक्त गरिसकिएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त विज्ञहरूको टिमसमेत गठन गरिएको छ।
स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रयोग, पर्यटन प्रवर्द्धनमार्फत देशको अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष योगदान पुर्याउने लक्ष्य लिएको रिसोर्टले आगामी दिनमा प्राथमिक शेयर निष्कासन गर्ने तयारी समेत अघि बढाएको जनाएको छ।






Comment