ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो



काठमाडौं । नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो ।

विभागका अनुसार साउन र भदौमा ४ करोड ३७ लाख ८० हजार रुपैयाँ बराबरका १९ हजार ५०० थान इन्डक्सन चुल्हो आयात भएको छ । गत आवको सोही अवधिमा भने २ करोड ५७ लाख २९ हजार रुपैयाँका ११ हजार ६०० थान मात्रै इन्डक्सन आयात भएको थियो । यसले मूल्यका आधारमा करिब ७० प्रतिशत र परिमाणका आधारमा करिब ६८ प्रतिशत वृद्धि भएको देखाउँछ ।

राइस कुकरको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवको पहिलो दुई महिनामा ६ करोड ६२ लाख रुपैयाँका ४७ हजार ४०० थान राइस कुकर आयात भएकोमा चालु आवको सोही अवधिमा ११ करोड ९० लाख रुपैयाँका ७३ हजार थान आयात भएको छ ।

त्यसैगरी इन्फ्रारेड स्टोभको आयात सबैभन्दा तीव्र गतिमा बढेको देखिएको छ । गत आवको साउन–भदौमा २ करोड ४६ लाख रुपैयाँका १३ हजार ५०० थान आयात भएकोमा यस वर्ष सोही अवधिमा ८ करोड ७५ लाख रुपैयाँका ४१ हजारभन्दा बढी थान इन्फ्रारेड स्टोभ नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

गत वर्षको फागुन–चैतदेखि देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभावपछि उपभोक्ताहरू वैकल्पिक विद्युतीय उपकरणतर्फ आकर्षित भएकाले यस्ता उपकरणको आयात बढेको हुन सक्ने अनुमान गरिएको छ ।

नेपालमा विद्युत् आपूर्तिमा सुधार र विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको प्रवृत्तिसँगै भान्सामा विद्युतीकरणको गति तीव्र बन्दै गएको संकेत पनि पछिल्लो आयात तथ्यांकले देखाएको छ ।

प्रकाशित : 27 September, 2026 3:44 pm