नेफ्स्कुनका सञ्चालकद्वारा कर्मचारीमाथि दुर्व्यवहारको आरोप, सहकारी सुशासनमाथि गम्भीर प्रश्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

नेफ्स्कुनका सञ्चालकद्वारा कर्मचारीमाथि दुर्व्यवहारको आरोप, सहकारी सुशासनमाथि गम्भीर प्रश्न




नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) का सञ्चालक बीरबहादुर रावत भोटेमाथि सुर्खेतस्थित फिल्ड कार्यालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि सहकारी क्षेत्रमा तरंग फैलिएको छ। घटनाले सहकारी संस्थाभित्रको कार्यसंस्कृति, नेतृत्वको आचरण र कर्मचारी सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ।


सार्वजनिक भिडियोमा रावतले कर्मचारी पुष्पराज तिम्सिनालाई समात्दै अशोभनीय भाषा प्रयोग गरेको र आक्रामक व्यवहार देखाएको जस्तो दृश्य देखिन्छ। भिडियो सामाजिक सञ्जालमार्फत फैलिन थालेपछि विभिन्न सहकारीकर्मी, कर्मचारी सङ्घ–संस्था र सरोकारवालाहरूले घटनाको निन्दा गरेका छन्।


प्रारम्भिक विवरणअनुसार काठमाडौँ भ्रमणसँग सम्बन्धित खर्च भुक्तानीको विषयमा विवाद उत्पन्न भएको हो। हवाई टिकट, ट्याक्सी तथा होटल खर्च संस्थाबाट भुक्तानी गराउन दबाब दिइएको तर औपचारिक निर्णय तथा प्रक्रिया नपुगेकाले कर्मचारीले अस्वीकार गरेपछि विवाद चर्किएको बताइएको छ। कर्मचारी पक्षले साना खर्च आफैं तिर्न तयार रहेको बताए पनि त्यसपछि स्थिति नियन्त्रण बाहिर गएको स्रोतहरूको भनाइ छ।


यस घटनालाई एकपटकको असामान्य व्यवहार मात्र नभई विगतदेखिकै निरन्तर दबाब र धम्कीको शृङ्खलाको रूपमा लिइएको छ। यसअघि पनि नियमविपरीत ऋण प्रवाहका लागि दबाब दिँदा असफल भएपछि कर्मचारीहरूलाई मानसिक रूपमा त्रसित बनाउने प्रयास भएको आरोप रावतविरुद्ध लाग्दै आएको बताइन्छ।
घटनाका क्रममा कार्यालयका अन्य कर्मचारीहरूले भिडियो खिचेपछि उल्टै कर्मचारीमाथि उजुरी गराई प्रहरीमार्फत नियन्त्रणमा लिन खोजिएको दाबीसमेत गरिएको छ। यसले कार्यालयभित्र भय, असुरक्षा र दबाबको वातावरण सिर्जना भएको कर्मचारीहरूको भनाइ छ।


घटनापछि राजनीतिक पहुँच प्रयोग गरी विषयलाई सामसुम पार्ने प्रयास भइरहेको आरोप पनि उठेको छ। सहकारी क्षेत्रका जानकारहरूका अनुसार यस्तो घटनामा निष्पक्ष छानबिन र संस्थागत कारबाही नहुँदा सहकारीप्रतिको सार्वजनिक विश्वास कमजोर हुने खतरा बढ्दै गएको छ।
सरोकारवालाहरूले नेफ्स्कुन नेतृत्वसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र कर्मचारी सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। साथै, सहकारी संस्थामा राजनीतिक प्रभावभन्दा पनि नियम, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने आवाज बलियो बन्दै गएको छ।

प्रकाशित : 3 January, 2026 8:33 am