काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल कोरिडोरको अवधारणात्मक रूपरेखा औपचारिक रूपमा सार्वजनिक गरेको छ। दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, क्षेत्रीय नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने र नेपाल–भारतलाई प्रमुख डिजिटल केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित तयार गरिएको यस रूपरेखाको नेतृत्व क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना–प्रविधि नीति विज्ञ चिरञ्जीवी अधिकारीले गरेका हुन्।
क्यानका अनुसार डिजिटल कोरिडोरमार्फत दुवै देशबीच ज्ञान, सीप, प्रविधि तथा डिजिटल उत्पादनका क्षेत्रमा सहकार्य सुदृढ हुने अपेक्षा गरिएको छ। आवश्यकता परेको बेला दक्षिण एसियाली मुलुकहरूबीच प्रविधिसम्बन्धी सीप, प्रमाणिकरण तथा प्राविधिक जनशक्ति संयुक्त रूपमा उपयोग गर्न सकिने वातावरण निर्माण गर्ने लक्ष्ययसको केन्द्रमा छ।
महासंघले यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी आवश्यक डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिएको छ। साथै, दुवै देशबीच डेटा सुरक्षा, डिजिटल पहिचान, र ई–व्यापारसम्बन्धी कानुनी संरचना एकरूप बनाएर डिजिटल व्यापार सहज बनाउने उद्देश्य समेत समावेश छ।
अधिकारी विगत तीन दशकदेखि डिजिटल नीति, सूचना प्रविधि कानुन, डिजिटल शासन, कृत्रिम बुद्धिमत्ता नीति, ई–शासन रूपरेखा तथा प्रविधि उद्योग विकासजस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आएका अनुभवी आइसीटी नीति विशेषज्ञ हुन्।





Comment