समृद्ध सदस्य, सुरक्षित संस्था: बिन्धवासिनी साकोसको यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समृद्ध सदस्य, सुरक्षित संस्था: बिन्धवासिनी साकोसको यात्रा



सहकारी क्षेत्रमाथि प्रश्न उठिरहेका बेला एउटा संस्था यस्तो छ । जसले ३० वर्षभन्दा बढीको यात्रामा विश्वास, पारदर्शिता र दिगोपनको मिसाल कायम गर्दै आएको छ- बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

वि.सं. २०५० सालमा काभ्रेपलाञ्चोकको खोपासीमा सानो प्रारम्भबाट स्थापना भएको यो संस्था आज देशका चार जिल्लामा ७१ हजारभन्दा बढी सदस्यको साथमा १७ वटा कार्यालयमार्फत सेवा पुर्‍याउँदै आएको छ। यस्तो संस्थाले देशभर फैलिएको ‘सहकारीमाथि अविश्वास’ को मनोविज्ञानलाई चुनौती दिँदै अनुशासन र वित्तीय सुदृढताका आधारमा आफ्ना बचतकर्ता र लगानीकर्तालाई विश्वास दिलाउदै आएको छ।

तथ्य आफैंमा बलिया साक्षी

संस्थाको वित्तीय अवस्था हेर्दा अहिलेसम्म रु. ५५ करोड भन्दा बढीको शेयर पुँजी, रु. ४ अर्ब ६ करोड भन्दा बढीको बचत र रु. ३ अर्ब ५५ करोड भन्दा बढीको ऋण प्रवाह भइसकेको छ। अझ चाखलाग्दो कुरा संस्थाको तरलता ३० प्रतिशत भन्दा बढी रहेको छ । जसले कुनै पनि समयमा बचत फिर्ता दिन सक्ने क्षमता प्रदान गरिरहेकाे छ।

यति मात्र होइन, ऋण असुली दर झन्डै ९८ प्रतिशत रहेको यस सहकारीले सदस्यहरुलाइ वित्तीय अनुशासन र संस्थाको व्यवस्थापन प्रणाली उदाहरणीय रहेकाे स्पष्ट पारेकाे छ। प्राथमिक पूँजीकोष २०.७३ प्रतिशत र कुल पूँजीकोष २१.८३ प्रतिशत जस्तो मजबुत अनुपातले बिन्धवासिनीलाई ‘जोखिम रहित सहकारी’ को सूचीमा राख्न सकिने यसकाे तथ्यांकले देखाएकाे छ।

आर्थिक मन्दीको असर र समाधानको खोजी

हालको आर्थिक मन्दी, बढ्दो मूल्यवृद्धि र जनसंख्या पलायनले सहकारी ऋणीहरूलाई समयमै भुक्तानी गर्न कठिन भएको संस्थाले स्वीकार गरेकाे छ। तर, संस्थाले आफ्नो व्यवस्थापन प्रणाली-जसमा व्यवसाय परामर्श, बीमा, ऋण सदुपयोग अनुगमन, र नियमित सम्पर्क-मार्फत समस्या व्यवस्थापन गर्न सफल भएको छ। “नीति, विधि, प्रविधि र नियमित समन्वय हाम्रो मुख्य अस्त्र हो,” प्रमुख कार्यकारी अधिकृत के.बि.लामा स्याङ्तानले बताए ।

नियमनमा सहकार्य

नेपाल सरकारले सहकारी क्षेत्र सुधारका लागि उठाएका कदमलाई बिन्धवासिनी सहकारीले खुलेर स्वागत गरेको छ। विशेष गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण को गठन र सहकारी ऐनको संशोधनलाई संस्थाले सकारात्मक अवसरको रूपमा लिएको छ।

संस्थाको भनाइमा, नियमन आवश्यक छ तर स्व–नियमन अझै महत्वपूर्ण हो। लेखापरीक्षण, सदस्य शिक्षा, र नियमित मूल्यांकन प्रणालीलाई प्राथमिकतामा राख्दै संस्था नियमपालन र पारदर्शितामा दृढ देखिन्छ।

सहकारीको विश्वास संकट र त्यसको समाधान

कतिपय सहकारीमा देखिएको बेथिति र सुशासनको अभावले सहकारीप्रति केही हदसम्म अविश्वास उत्पन्न भएको संस्था स्वीकार गर्छ। तर यो समस्या २–३ प्रतिशत सहकारीमा मात्र सीमित रहेको तथ्यलाई पनि उसले जोड दिन्छ। “सहकारी नहुने हो भने देशका धेरै नागरिक वित्तीय पहुँचबाट वञ्चित हुनेछन्,” प्रमुख कार्यकारी अधिकृत के.बि.लामा स्याङ्तान प्रष्ट्याउँछन्।

उत्पादन र सहकारी

नेपालमा अधिकांश बचत तथा ऋण सहकारीहरु एकल उद्देश्यका कारण उत्पादनतर्फ संस्थागत लगानी गर्न सक्दैनन्। कानुनी सीमा, अनुदान अभाव, र बजारको प्रतिस्पर्धाले पनि यो बाधा बनिरहेको छ।

तर, सदस्यलाई उत्पादनतर्फ ऋण लगानीमार्फत उत्प्रेरित गर्ने कार्यक्रम भने संस्थाले अघि सारेको छ। “यदि सरकारले उत्पादनमुखी सहकारीका लागि सहुलियत र संरक्षणको वातावरण सिर्जना गर्‍यो भने सहकारी उत्पादनको मेरुदण्ड बन्न सक्छ,” संस्थाको दृढ विश्वास छ।

समस्या होइन, सम्भावना देख्नुपर्छ

बिन्धवासिनी सहकारीले देखाएको उदाहरण के हो भने-सहकारी क्षेत्र पूर्ण असफल होइन, सुधारको आवश्यकता छ मात्र। सही नेतृत्व, पारदर्शिता, प्रविधिको प्रयोग, र सदस्यप्रतिको प्रतिबद्धताले सहकारीले पनि आधुनिक वित्तीय संस्थाजस्तै सफल हुन सक्छ भन्ने उदाहरण यो संस्थाले दिएको छ।

प्रकाशित : 26 October, 2025 12:07 pm