लगानीकर्ताका लागि कुन बैंक सुरक्षित ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लगानीकर्ताका लागि कुन बैंक सुरक्षित ?



काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। यी विवरणले बैंकहरूको नाफा–नोक्सान मात्र होइन लगानीकर्ताका लागि कस्तो जोखिम र अवसर देखिन्छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ। धितोपत्र बजारमा बैंकिङ सेक्टरमा ठूलो लगानी हुने भएकाले कुन बैंकमा लगानी सुरक्षित छ। विशेषगरी दीर्घकालीन रूपमा लगानी सुरक्षित राख्न इच्छुक लगानीकर्ताले बैंकहरूको इपिएस, नेटवर्थ र लाभांश क्षमताजस्ता आधारभूत सूचकलाई मूल्यांकन गर्नु अनिवार्य देखिन्छ।

पछिल्ला केही वर्षयता बैंकिङ क्षेत्रमा तरलता संकट, ब्याजदरको अनिश्चितता, खराब कर्जा (एनपिएल) बढ्दै जानु र मर्जर–अधिग्रहणजस्ता प्रक्रियाले लगानीकर्तालाइ अलमल बनाएकाे छ। यस्ता परिस्थितिमा लगानीकर्ताले सामान्य नाफा–घाटा भन्दा पनि बैंकको प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, संचित मुनाफा र लाभांश क्षमताजस्ता आधारभूत सूचकमा भर पर्नुपर्ने अवस्था आएको छ। सही सूचकको आधारमा सुरक्षित बैंक छान्न सक्ने हो भने लगानीकर्ताले दीर्घकालीन रूपमा लगानी सुरक्षित मात्र होइन, आकर्षक प्रतिफल लिन सकिने सम्भावना पनि बलियो देखिन्छ।

नाफाको प्रमुख सूचक: प्रति शेयर आम्दानी कस्तो ?

लगानीकर्ताले कुनै बैंकको आकर्षण र लाभांश पाउने सम्भावना बुझ्न सबैभन्दा पहिले हेर्ने सूचक नै प्रति शेयर आम्दानी हो। हालै सार्वजनिक गत चौथो त्रैमासिक विवरणअनुसार केही अग्रपंक्तिका बैंकहरूको इपिएस उल्लेख्य रुपमा उच्च देखिएको छ। एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंकजस्ता बै‌कहरू यसमा अग्रस्थानमा छन्। यी बैंकहरूको इपिएस बलियो देखिनुको अर्थ, शेयरधनीले आगामी दिनमा लाभांश प्राप्त गर्ने सम्भावना पनि उच्च छ।

तर, सबै बैंकहरूको स्थिति भने समान छैन। कतिपय वाणिज्य बैंकहरूको इपिएस एकल अंकमा सीमित भएको छ । जसले लाभांश वितरण गर्ने क्षमता कमजोर भएको संकेत गर्छ। यस्तो अवस्थामा ती बैंकहरूको शेयर मूल्य बजारमा दबाबमा पर्ने सम्भावना रहन्छ। त्यसैले लगानीकर्ताका लागि इपिएस निरन्तर स्थिर वा बढ्दो देखाउने बैंकहरूलाई अपेक्षाकृत सुरक्षित विकल्पका रूपमा मान्न सकिन्छ।

नेटवर्थमा कुन बैंक सुरक्षित मान्ने ?

प्रति शेयर नेथवर्थ लगानीकर्ताका लागि ‘सेफ्टी ब्यारेमिटर’ जस्तै हो। यदि कुनै बैंक डुब्न लाग्यो भने लगानीकर्ताले कम्तीमा कति पाउँछन् भन्ने बुझाउने सूचक यही हो। हाल सार्वजनिक वित्तिय विवरण हेर्दा धेरैजसो वाणिज्य बैंकहरूको नेटवर्थ प्रति शेयर रु‍. १५० माथि रहेको देखिन्छ। यसले बैंकहरूको आधारभूत वित्तीय अवस्था बलियो रहेको संकेत गर्छ। तर केही बैंकहरूको नेटवर्थ १०० को नजिक वा तल पुगेको छ भने लगानीकर्ताले सावधानी अपनाउनुपर्ने हुन्छ। नेटवर्थ उच्च हुने बैंकमा लगानी सुरक्षित हुन्छ किनभने बजार मूल्य घट्दा पनि आधारभूत सम्पत्ति उच्च रहन्छ।

लाभांश क्षमतामा अग्रता

बैंकले इपिएस उच्च देखाए पनि लाभांश दिन सक्ने क्षमता संचित मुनाफा र नियामक दबाबमा निर्भर हुन्छ। हालको विवरणअनुसार एभरेष्ट बैंक र सानिमा बैंक दुवै बलियो अवस्थामा देखिएका छन्। यी बैंकहरूको इपिएस उच्च, नेटवर्थ स्थिर र संचित मुनाफा पर्याप्त भएकाले नगद वा बोनस दुवै प्रकारको लाभांश वितरण गर्न सक्ने सम्भावना बलियो छ। नबिल बैंक पनि त्यस्तै हैसियतमा रहेको छ । जसले लगानीकर्तालाई दुवै प्रकारको लाभांश दिने क्षमता मजबुत नै देखाउँछ।

नियमित लाभांश दिने परम्परामा परिचित स्ट्यान्डर्ड चार्टर्ड बैंक यसपटक पनि स्थिर देखिएको छ। यसको निरन्तर नगद लाभांश वितरण गर्ने नीति लगानीकर्तालाई अझै आकर्षित बनाइरहेको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकले ठूलो नाफा देखाए पनि पूँजी संरचना ठूलो भएकाले लाभांश प्रतिशत मध्यम रहने अपेक्षा छ। तर, यसले नगदसहित मिश्रित लाभांश दिने परम्परा भने कायम राख्ने सम्भावना प्रबल छ।

एनआईसी एशिया बैंकले विगतमा आक्रामक रूपमा बोनस शेयर वितरण गर्दै आएको छ। यस वर्ष पनि बोनसतर्फ बढी झुकाव देखिने अनुमान छ। तर, नेपाल बैंक, कुमारी बैंक र हिमालयन बैंकको लाभांश वितरण क्षमता भने यसपटक न्यून देखिन्छ। सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा स्थिर नभएकाले लाभांश वितरण गर्ने सम्भावना पनि निकै सीमित रहेको रिपाेटले देखाउछ।

नाफा बढ्दा पनि खराब कर्जा बढ्दै

चौथो त्रैमासिक वित्तीय विवरणले बैंकहरूको खराब कर्जामा पनि बढोत्तरी देखाएको छ। धेरै बैंकले नाफा वृद्धि गरे पनि एनपिएल उकालो लाग्नु ग्राहकहरूले समयमै कर्जा चुक्ता गर्न नसकेको संकेत हो। बढ्दो खराब कर्जाले बैंकको दीर्घकालीन नाफा, लाभांश वितरण क्षमता र पूँजी पर्याप्ततामा नकारात्मक असर पार्न सक्छ। लगानीकर्ताका लागि उच्च नाफा मात्र देखेर बैंकमा लगानी गर्नु पर्याप्त हुँदैन । बैंकको कर्जा व्यवस्थापन र वित्तीय स्थायित्व पनि महत्वपूर्ण मूल्याङ्कनको आधार हुनुपर्छ।

कुन बैंक लगानीकर्ताका लागि सुरक्षित

वित्तीय विवरणको आधारमा विश्लेषण गर्दा केही बैंकहरू लगानीकर्ताका लागि विशेष रूपमा सुरक्षित देखिन्छन्। प्रति शेयर आम्दानीका आधारमा एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा छन्। यी बैंकहरूको इपिएस उच्च रहेकाले आगामी लाभांश वितरणको सम्भावना पनि बलियो देखिन्छ।

प्रति शेयर नेटवर्थको आधारमा पनि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र कृषि विकास बैंक उच्च स्थानमा रहेका छन्। यसले यी बैंकको आधारभूत वित्तीय अवस्था मजबुत रहेको संकेत गर्छ।

त्यसैगरी लाभांश क्षमताको आधारमा पनि एभरेष्ट बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र कृषि विकास बैंक अग्रपंक्तिमा देखिएका छन्। यसका साथै खराब कर्जाको अवस्था हेर्दा पनि यी बैंकहरू अपेक्षाकृत सुरक्षित मानिन्छन्। यसैले लगानीकर्ताले दीर्घकालीन र स्थिर प्रतिफलका लागि यी बैंकहरूलाई प्राथमिकता दिन सक्ने अवस्था देखिन्छ।

जोखिमका संभावना बाेकेका बै‌कहरु :

कुनै कुनै वाणिज्य बैंकको इपिएस लगाएतका सुचक एकल अंकमा झरेको छ । साथै एनपिएल पनि बढेको देखिन्छ। यस्ता बैंकहरूमा लगानी गर्दा उच्च लाभांशको अपेक्षा भन्दा पनि जोखिम व्यवस्थापनलाई ध्यान दिनुपर्छ। विशेषगरी पछिल्ला मर्जरपछि ठूलो आकार बनेका तर कर्जा असुलीमा चुनौती खेपिरहेका बैंकहरूलाई लगानीकर्ताले ‘वाच लिस्ट’ मा राख्नुपर्ने अवस्था देखिन्छ। यद्यपी लगानी भनेको हरेक अवस्थामा जोखिमसहितको यात्रा हो। त्यसैले शेयर खरिद गर्नुअघि वित्तीय विवरण अध्ययन गर्नु, बजार प्रवृत्ति बुझ्नु र दीर्घकालीन दृष्टिकोण राख्नु नै लगानीकर्ताका लागि सबैभन्दा ठूलो सुरक्षा रहेको बजारका जानकारहरु बताउछन् ।

प्रकाशित : 17 August, 2025 1:19 pm