काठमाडौं । आधुनिक खानपान संस्कृतिमा विदेशी परिकारको प्रभाव बढ्दै गइरहेका बेला नेपाली मौलिक स्वादको जगेर्ना गर्ने उद्देश्यले हायात प्लेस बुटवलले ‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियान सुरु गरेको छ। उक्त अभियानको नेतृत्व होटलका कार्यकारी सेफ उमेश तामाङले गरिरहेका छन्।
यस अभियानमार्फत नेपाली भान्सामा कुनै समय लोकप्रिय रहेका तर अहिले बिस्तारै हराउँदै गएका परम्परागत परिकार, रैथाने सामग्री तथा पुराना पकाउने शैलीलाई पुनः स्थापित गर्ने प्रयास गरिएको होटलले जनाएको छ।
सेफ तामाङले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतिसँग जोड्दै पुराना पुस्ताका सम्झना, कथा र संस्कृतिसँग जोडिएका परिकार पाहुनामाझ पस्किरहेका छन्। उनका अनुसार आजको समयका सेफहरू केवल भान्सामा सीमित रहने होइनन्, उनीहरू परम्परा र संस्कृतिको संरक्षण गर्ने प्रतिनिधि पनि हुन्।
नेपाली खानपान र यसका क्षेत्रीय विशेषताबारे राम्रो ज्ञान भएका सेफ तामाङले आमा र हजुरआमाहरूले घरमा पकाउँदै आएका परम्परागत परिकारलाई पुनः भान्सामा फर्काउने प्रयास गरिरहेका छन्।
‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियान अन्तर्गत होटलको टोलीले बिर्सिंदै गएका पकाउने विधिहरू अपनाउँदै स्थानीय रैथाने सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको छ। परम्परागत स्वादलाई जोगाउँदै आधुनिक स्वाद पारखीलाई आकर्षित हुने गरी परिकार तयार पारिएको होटलले जनाएको छ।
“खाना आफैंमा एउटा सशक्त कथा हो,” सेफ तामाङ भन्छन्, “कुनै समय हाम्रो भान्साको पहिचान बनेका धेरै परिकार आज बिस्तारै हराउँदै गइरहेका छन्। एक सेफका रूपमा ती परम्परालाई जोगाउनु र नयाँ पुस्तासम्म पुर्याउनु हाम्रो दायित्व हो।”
बुटवलको केन्द्रमा रहेको हायात प्लेस बुटवलले सुविधासम्पन्न कोठा, स्वादिला परिकार र बहुउद्देश्यीय कार्यक्रम हलमार्फत आधुनिक आतिथ्य सेवा प्रदान गर्दै आएको छ। होटल पर्यटक, कर्पोरेट पाहुना तथा स्थानीय पारखीका लागि आकर्षक गन्तव्य बन्दै गएको बताइएको छ।






Comment