काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेडको महाप्रबन्धकमा डा. बाबु काजी थापा नियुक्त भएका छन्।शनिबार महासंघका का.बा. अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले थापालाई चार वर्षका लागि महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त महाप्रबन्धक थापाले चैत्र १ गतेदेखि कार्यभार सम्हाल्नेछन् । यसअघिका महाप्रबन्धक सुरेश थापाले राजीनामा दिएपछि गत साउन १ गतेदेखि वरिष्ठ अधिकृत गोपीकृष्ण भण्डारीलाई कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो।
महासंघले २०८२ पुस २ गते पहिलो पटक र २०८२ पुस ६ गते दोस्रो पटक राष्ट्रिय दैनिक पत्रिकामार्फत महाप्रबन्धक पदका लागि आवेदन आह्वान गरेको थियो। तोकिएको समयभित्र आवेदन दिएका उम्मेदवारमध्ये ६ जना छोटो सूचीमा परेका थिए। महासंघको पदपूर्ति उपसमितिले प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्पन्न गरी योग्य उम्मेदवारको नाम सिफारिस गरेको थियो।
शनिबार भर्चुअल माध्यमबाट बसेको महासंघको बोर्ड बैठकले सबैभन्दा बढी अंक प्राप्त गरेका बाबु काजी थापालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै अमित श्रेष्ठ र हरिबदुर खत्री वैकल्पिक उम्मेदवारका रूपमा छनोट भएका छन्।
नागार्जुन नगरपालिका-१, स्थायी घर भएका थापा सार्वजनिक प्रशासन र समाजशास्त्रमा स्नातकोत्तर हुन्। थापा हाल Centre on Integrated Rural Development for Asia and the Pacific (CIRDAP) मा कार्यरत छन्।
थापासँग कृषि विकास बैंकमा काम गरेको २५ वर्षको अनुभव छ। सन् २००१ मा ऋण अधिकृतबाट कृषि विकास बैंकमा प्रवेश गरेका थापाले उप–महाप्रबन्धक पदबाट सन् २०२५ मा विदा भएका थिए।
त्यसैगरी New ERA, GIZ, MEDEP, IUCN, ActionAid Nepal, BDA, वन तथा भू–संरक्षण मन्त्रालय, HVAP/MoALD आदि संस्थाहरूमा Consultant / Research Officer का रूपमा काम गरेको अनुभव समेत थापासँग छ।






Comment