जनता बैंकले गर्ने भयो ६० प्रतिशत हकप्रद रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले गर्ने भयो ६० प्रतिशत हकप्रद रद्द



काठमाडौ, २७ वैशाख । जनता बैंकले सातौं साधारणमा पारित ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव रद्द गरेको छ । यसअघि त्रिवेणी विकास बैंकलाई मर्ज गरेपछि कायम हुने चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव सातौ साधारण सभाबाट पारित गरिएको थियो । तर जनताले बुधबार सार्वजनिक गरेको सूचनामा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि राष्ट्र बैंकले तोकेको ८ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएकाले ६० प्रतिशत हकप्रद रद्द गर्ने विशेष प्रस्ताव विशेष साधारण सभामा लैजाने उल्लेख गरिएको छ । बैंकले जेठ १३ गतेका लागि विशेष साधारण सभा बोलाएको छ । यता, जनतासँग मिसिन लागेको सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि जेठ १२ गते विशेष साधारण सभा बोलाएको छ ।
उता, सेयर बजारका लगानीकर्ता भने हकप्रदको पछि दौडिने गरेका छन् । हकप्रदको सूचना आउने बित्तिकै बजारमा सेयर भाउ बढ्ने गरेको छ । कतिपय सूचीकृत कम्पनीहरुले भने पहिला प्रस्ताव गरेका हकप्रद, बोनस जारी नगर्ने प्रवृत्ति बढेको छ । यसबाट लगानीकर्ता मारमा पर्दै आएका छन् । दुवै बैंकले विशेष साधारण सभामा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्ने सम्बन्धी भएका विभिन्न सम्झौता र सहमतिलाई अनुमोदन गर्ने, १ः१ अनुपातमा स्वाप रेसियो पारित गर्नेलगायत प्रस्तावहरुमा अघिसारेका छन् । साथै, विशेष साधारण सभाका लागि जनता बैंकले वैशाख २९ देखि जेठ १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यसो त बैंकको सेयर कारोबार त्रिवेणी विकास बैंकसँगको मर्जर प्रयोजनका लागि कार्तिक १८ गतेदेखि नै बन्द हुँदै आएको छ । यसैगरी, सिद्धार्थको सेयर कारोबार पनि फागुन १९ गतेदखि बन्द रहेको छ । जनताको विशेष साधारणसभा जेठ १३ गते अमृतभोग पार्टी प्यालेस कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजेदेखि हुनेछ भने सिद्धार्थको विशेष साधारण सभा जेठ १२ गते मण्डला ब्यांक्वेट तिनकुनेमा बिहान १० बजे सुरु हुनेछ । केही समयअघि साविकको त्रिवेणी विकास बैंकलाई गाभेको जनता बैंकले चुक्ता पुँजी वृद्धिका लागि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्ने भएको हो । जनताले सिद्धार्थलाई एक्वायर गर्न वैशाख २१ गते राष्ट्र बैंकबाट सैद्धान्तिक अनुमति पाइसकेको छ ।

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ०६:०७