चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत मात्र



काठमाडौं । शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममा मन्त्रालयले हालसम्म जम्मा १७.९३ प्रतिशत मात्र बजेट खर्च गरेको विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा कुल ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। संघीय सरकारतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ छुट्याइएको थियो। तर हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ मात्र खर्च भएको मन्त्रालयले जनाएको छ। चालुतर्फ २५.२३ प्रतिशत र पूँजीगततर्फ १७.४३ प्रतिशत मात्र खर्च भएको छ, जसले बजेट कार्यान्वयनमा सुस्तता देखाएको छ।

वित्तीय प्रगति विवरणअनुसार चालू आर्थिक वर्षमा ३,७१६ नयाँ कार्यक्रममध्ये १,६२३ वटा मात्र बोलपत्र प्रक्रियामा पुगेका छन्। तीमध्ये १,०९८ परियोजनाका ठेक्का सम्झौता भइसकेका छन् भने १२४ वटा कार्यक्रम सम्पन्न भएका छन्। २,०९३ योजना अझै अघि बढ्न सकेका छैनन्, जसमा २८८ वटा बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित छन्।

भौतिक पूर्वाधारतर्फ, नेपालगञ्ज सिटी हल र लौकही सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ। भैसेपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ भने चण्डीदल गणको भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ।

सडक पूर्वाधारमा, १०० किलोमिटर ग्रामीण सडक निर्माण लक्ष्य रहे पनि हालसम्म ८.६ किलोमिटर मात्र निर्माण भएको छ। ३० वटा सडक पुलमध्ये ५ वटा मात्र सम्पन्न भएका छन्। ३३० झोलुंगे पुल निर्माण लक्ष्य रहे पनि १६२ मात्र सम्पन्न भएका छन्।

शहरी पूर्वाधार अन्तर्गत दमक व्यापारिक कम्प्लेक्स, नेपाल सिटी हल, थापाथली बैंकिङ कार्यालय, भक्तपुरस्थित ऐतिहासिक संरचना पुनर्निर्माण कार्य सम्पन्न भएका छन्। धरहराको सञ्चालनपछि हालसम्म १ लाख ३० हजारभन्दा बढीले भ्रमण गरेका छन् भने २ करोड ३७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।

बजेट खर्च अत्यन्त न्यून रहेको भन्दै मन्त्रालयले आगामी दिनमा खर्च प्रवाह तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलवार १३:३८