नबिल बैंककाे नाफासँगै  शेयर आम्दानी पनि बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंककाे नाफासँगै  शेयर आम्दानी पनि बढ्याे



काठमाडौ । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार ०८:०४