काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्यान्ड बीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् ।
नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार भएको भेटमा ढकालले नेपाल र थाइल्यान्ड बीचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धहरूले यसलाई प्रमाणित गरेको बताए ।
उनले विगत वर्षदेखि नेपाल र थाइल्यान्ड बीचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै यसले दुवै राष्ट्रका लागि सम्भावना र अवसरहरूको संकेत गरेको बताए ।
उनले नेपाल र थाइल्यान्ड बीचको सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिएका छन् । उनले नेपाल चिया, कफी र जडीबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउन सकिने बताए । ढकालले नेपाल र थाइल्यान्ड दुवै देशका आ आफ्नो महत्व भएको हुँदा दुवै देशका गन्तव्यलाई समेट्न पर्यटन प्याकेजको विकास गर्नुपर्ने जोड दिए ।
भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् । उनले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग सहयोगको अपेक्षा रहेको पनि बताएकी छन् ।
Comment