पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला



काठमाडाैं । सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।

५८ वर्षे उमेर हदका कारण गड्तौला अवकाशमा जानेछिन् । तर, त्यसभन्दा अघि करिब एक महिनाभन्दा बढी उनले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन् ।

३१ असारमा बसेको बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।

त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको उनले जानकारी दिए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका पूर्व अध्यक्ष र प्राध्यापक हुन् ।

बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार १७:३९