सुदूरपश्चिममा सबैभन्दा धेरै गरिबी, कृषि कर्जा लिने बढे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुदूरपश्चिममा सबैभन्दा धेरै गरिबी, कृषि कर्जा लिने बढे



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गरिबीको दर सबैभन्दा धेरै रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सुदू्रपश्चिम प्रदेशको अर्धवार्षिक प्रतिवेदनमा यस्तो पाइएको हो ।

सर्वेक्षणका अनुसार नेपालमा गरिबको दर २०.२७ प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा भने ३४.१६ प्रतिशत रहेको छ । उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ । २०६६/६७ मा सार्वजनिक तेस्रो जीवनस्तर सर्वेक्षणले नेपालको गरिबी २५.१६ प्रतिशत रहेको देखाएको थियो।

२०७२ सालमा आएको विनाशकारी भूकम्प, कोरोना महामारी, युद्धलगायत राष्ट्रिय अन्तरराष्ट्रिय कारणले अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको देखिन्छ ।

प्रदेशगत रुपमा हेर्दा सुदूरपश्चिम (३४.१६ प्रतिशत), कर्णाली (२६.६९ प्रतिशत) र लुम्बिनी ९२४.३५ प्रति प्रदेशमा राष्ट्रिय स्तरभन्दा बढी गरिबी रहेको छ भने सबैभन्दा कम गरिबी रहेको प्रदेशहरुमा क्रमशः गण्डकी (११.८८ प्रतिशत), बागमती (१२.५९ प्रतिशत) र कोशी (१७.१९ प्रतिशत) रहेका छन् । यस सर्वेक्षणले असमानपनको लागि प्रयोग गरिने गन्ति सुचकांकको मान राष्ट्रिय रुपमा ०.३ रहेको देखाएको छ भने ग्रामीण क्षेत्रको मान ०.२८७ र ०.३०३ रहेको देखाएको छ । यसले उपभोगमा ग्रामीण क्षेत्रको तुलनामा शहरी असमानता धेरै भएको देखाएको प्रतिवेदनमा उल्लेख छ ।

कृषि कर्जा लिने बढे

सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा लिनेको दर बढेको प्रतिवेदनदले देखाएको छ ।२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा ८.०७ प्रतिशतले वृद्धि भई १५ अर्ब ४० करोड २४ लाख पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.८३ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालनरपशु बधशालामा २०.३१ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.००१ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.९५ प्रतिशत रहेको छ कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.३० प्रतिशत, कञ्चनपुरको २०.८७ प्रतिशत, डडेलधुरा, डोटी दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३.४६ प्रतिशत, २.१४ प्रतिशत, १.८३ प्रतिशत, १.७५ प्रतिशत, १.५२ प्रतिशत, १.४० प्रतिशत र ०.७७ प्रतिशत रहेको छ ।

प्रकाशित : १६ असार २०८१, आईतवार १७:२०