भवन निर्माणको ‘झमेला’मा सेबोन, कहाँ फस्यो ४६ करोड ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

भवन निर्माणको ‘झमेला’मा सेबोन, कहाँ फस्यो ४६ करोड ?



काठमाडाै । नेपाल धितोपत्र बोर्डले आज ३२ औं वार्षिकोत्सव मनाएको छ । नेपाल धितोपत्र बोर्ड २०५० साल जेठ २५ गते विधिवत रुपमा स्थापना भएको थियो । बोर्डको वार्षिकोत्सवका अवसरमा बोल्ने अधिकांश वक्ताहरुले पनि धितोपत्र बोर्डको आफ्नै भवनको आवश्यकता जोडतोडले उठाए ।

राजश्व सचिब राम प्रसाद घिमिरेले नयाँ भवन निमार्णको लागि आफूले सक्दो प्रयास गर्ने बताए । राजस्व सचिव डा रामप्रसाद घिमिरेले बोर्डलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाल धितोपत्र बोर्डले स्थापना भएको ३२ वर्ष बित्यो तर आफ्नै भवन बनाउने प्रयास गर्दा बोर्ड अहिले झमेलामा फसेको छ । केही पूर्व अध्यक्षहरूले आफ्नो कार्यकालमा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेर जग्गा खरिद त गरे तर कतै कमिसनको चक्कर कतै आफ्नै सुस्त कार्यशैलीले अहिले झमेलाको भूमिरिमा पस्दै गएको छ ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. चिरञ्जीवी नेपालले भवन निर्माणका लागि ललितपुरको सातदोबाटो स्थित ढलोट कारखानामा ५० वर्षको लागि ४ रोपनी जग्गा भाडामा लिए । जग्गा पाएपनि काम अगाडि बढ्न सकेन ।

बोर्डका तत्कालिन अध्यक्ष सुरवीर पौड्यालको कार्यकालमा भवनको संरचना कस्तो बनाउने कसरी बनाउने भनेर पुलचोक इन्जिनियरिङ कलेजसँग समन्वय तर भवन प्रकृया नै अगाडी बढेन । बोर्डले भवन बनाउनको लागि शिलान्यास गरेको जग्गामा अहिले महानगरीय प्रहरी वृत सातदोबाटोको कार्यालय बसे पछि बोर्ड अलमलमा पर्यो ।

सुरक्षा संयन्त्र बसेको हुनाले हटाउनको लागि बोर्डले विभिन्न समयमा पहल गर्दा पनि हटाउन भने सकेन । बोर्डले भाडामा लिएको जग्गामा प्रहरी कार्यालय बसे पनि हालसम्म भाडा बापतको रकम भने धितोपत्र बोर्डले नै तिर्दै आएको बताइन्छ ।

बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाको कार्यकालमा काठमाडौं उपत्यका विकास प्राधिकरणले खरिद गर्न लागेको जडीबुटी प्रशोधन केन्द्रको १३ रोपनी १४ आना जग्गा मध्ये बोर्डले ७ रोपनी खरिद गर्ने पक्का भयो । जडीबुटी प्रशोधन केन्द्र पछाडिको जग्गा प्राधिकरणसँग ‘जि टु जी’मा लिने भनिएपनि पछिल्लो समय प्रक्रिया अलपत्र परेको छ । यो संगै ढुंगानाले कार्यालयका लागि जग्गा खरिदका क्रममा आर्थिक अनियमितता गरेको खुल्यो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानबिन समितिले जग्गा खरिदका क्रममा ढुंगानाले अनियमितता गरेको निष्कर्ष निकाल्यो। बोर्डको कार्यालयका लागि ढुंगानाले करिब ४६ करोड रूपैयाँ रकममा जग्गा खरिद का लागि बैना दिएका थिए ।

हाल बोर्ड खुमलटारमा भाडा तिरेर बसेको छ । तर, लामो समय बितिसक्दा पनि सेबोनले न जग्गा नै खरिद गर्न सकेको छ न पैसा नै फिर्ता लिन सकेको छ।

अध्यक्ष रानाले बोर्डको आफ्नै भवन निर्माणका लागि समन्वय भइरहेको बताए । बोर्डको भबन निर्माणका लागि हामि अघि बढेको जिकिर गरे । रानाले नयाँ भवन निमार्णको लागि उपत्यका विकास प्राधिकरणसँग जग्गा वा फेसेको पैसा फिर्ता ल्याउन पहल गर्ने बताए ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १४:५०