राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा नाडाको तर्फबाट प्रस्तुति राख्दै राज्यले जनताको अत्यावश्यक वस्तुको रुपमा सवारी क्षेत्रलाई लिएर सहज हिसाबको नीति लिनुपर्ने बताए ।

कार्यपत्र प्रस्तुति गर्दै उनले भने, ‘पछिल्लो समय अटोमोबाइल्स उद्योग ८० प्रतिशत खस्किसकेको छ । अब यस क्षेत्रमा लगानी बढाउन नीतिगत स्थिरता आवश्यक छ ।’ श्रेष्ठले पछिल्लो समय विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहेको र नेपालमै उत्पादित विद्युतको उपयोगबाट यसको सञ्चालन गर्न सकिने भएकाले दीर्घकालिन नीति लिन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘गतवर्षको १८ प्रतिशतको राजश्व हाल ९.५ प्रतिशतमा खस्किएको छ । गतवर्ष अटोमोबाइल्सको गिरावट ५९ प्रतिशत रहेको छ । यसको उपयोग बढाउन वातावरण सिर्जना गर्नुपर्दछ ।’

युवाको विदेश पलायनको असर अटोमोबाइल्स क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले कर प्रणाली उपभोक्तामैत्री बनाउनुपर्ने धारणा राखे । लगानी बढाउन नीतिगत स्थिरता नै चाहिने आवश्यकता औल्याउँदै उनले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालिन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको धारणा राखे । उनले अटोमोबाइल्स क्षेत्र खस्किँदा देशको अर्थतन्त्र नै खस्किने भएकाले बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारलाई सचेत बन्न ध्यानाकर्षण गराए ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १२:१६