लक्ष्मी ग्रुपले शुरु गर्यो नेपालमै हुण्डाईको कार उत्पादन, रामग्राममा भब्य प्लान्ट निर्माण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

लक्ष्मी ग्रुपले शुरु गर्यो नेपालमै हुण्डाईको कार उत्पादन, रामग्राममा भब्य प्लान्ट निर्माण



नवलपरासी । लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ। रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उद्घाटन गरेसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो ।

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादनमा सफल गरेसँगै एसेम्बल प्लान्ट औपचारिक उदघाटन गरिएको हो ।

औपचारिक उद्घाटन भएसँगै नेपालमै एसेम्बल भएको हुन्डाई ब्रान्डका भेन्यू बिक्री पनि शुरु भएको छ । सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात शुरु गरेको थियो ।

हुन्डाई मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो। त्यसयता कम्पनीले ठूलो संख्यामा सीकेडी आयात गरिसकेको छ । ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। रामग्राममा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो।

भब्य एसेम्बली प्लान्ट

कम्पनीको अनुसार ६५ हजार वर्ग मीटरको क्षेत्रफलमा फैलिएको मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मीटर क्षेत्रफलमा भव्य निर्माण गरिएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको प्लान्टमा पाँच हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरुको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ ।

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको जनाएको छ ।

वैशाख २८ गते शुक्रबार मोटर एसेम्बली प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उदघाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लि का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमलगायतको उपस्थिति थियो ।

उदघाटनसँगै लक्ष्मी ग्रुपले नेपालको मोटर गाडी उद्योगमा एक महत्त्वपूर्ण ईतिहास रचेको दाबी गरिएको छ । जहाँ नेपालमा बनेको पहिलो ‘हुन्डाइ भेन्यू’ हाल प्रदर्शनमा राखिएको छ । प्लान्टले निकट भविष्यमा हुन्डाई मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्ब्लिंग गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नेपालमा हाल हुन्डाईका १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्स छन् । यसका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष भूमिका निर्वाह गरिरहेको छ ।

नयाँ मूल्य चाँडै

नेपालमै कार उत्पादन गरेसँगै मूल्य पनि घटने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ एण्ड कम्युनिकेशन अधिकृत सन्दिप शर्माका अनुसार एक साताभित्र नेपालमा उत्पादित नयाँ कारको मूल्य निर्धारण हुनेछ । उनका अनुसार नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातको तुलनामा कम पर्नजाने बताए । नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ।

हाल आयात गरेर बिक्री भइरहेको हुन्डाईको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य २०२४ मोडलको ई१.२ को ४१ लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य राखिएको छ ।

सरकारको सहजीकरण

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलीयत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा ९सीकेडी वा डीकेडी० आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरु सरकारले उपलब्ध गराएको छ।

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलीयत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १२:०७