सहकारी बैंक कुनै समूहको नियन्त्रणमा नपरोस्: अध्यक्ष गिरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी बैंक कुनै समूहको नियन्त्रणमा नपरोस्: अध्यक्ष गिरी



काठमाडौं। राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी बैंक तथा सम्बन्धित संघ–महासंघलाई कुनै पनि राजनीतिक समूहको प्रभावमा नपार्न चेतावनी दिएका छन्। उनले यस्ता संस्थालाई “कसैको क्लब” जस्तो रुपमा ढाल्ने अभ्यास अन्त्य हुनुपर्ने उल्लेख गर्दै आगामी नेतृत्वले राजनीतिक भन्दा पनि पेशागत दक्षतालाई प्राथमिकता दिनुपर्ने बताए।

२२औँ वार्षिक साधारणसभाको समापन सत्रमा बोल्दै गिरीले जटिल अवस्थामा नेतृत्व सम्हालेको अनुभव साझा गर्दै भने, “बैंक सञ्चालन गर्ने जो कोही भए पनि व्यावसायिक सोच र अभ्यास आवश्यक छ। नत्र भए उनीहरू स्वयं पेशागत रूपमा सक्षम बन्नुपर्छ।”

आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले बैंक, नेफ्स्कूनदेखि महासंघसम्म सबै संरचनामा योग्य, अनुभवसहितका व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, राजनीतिक हस्तक्षेप न्यूनीकरण गरी दक्ष टीम बने मात्र सहकारी क्षेत्र टिकाउ रूपमा अघि बढ्न सक्छ।

गिरीले आफ्नो कार्यकालमा सञ्चालक समिति र व्यवस्थापनबीचको समन्वय सुधार गरिएको बताउँदै सदस्यहरूलाई वित्तीय सूचक, पुँजी पर्याप्तता अनुपातजस्ता प्राविधिक विषय बुझ्ने संस्कार विकसित गरेको दाबी गरे। उनले पूर्व अध्यक्ष रमेश पोखरेललाई समेत यस्ता विषयहरूमा प्रशिक्षण दिएको उदाहरण प्रस्तुत गरे।

विगतका गतिविधि स्मरण गर्दै उनले अत्यधिक रकम एउटै क्षेत्र वा संस्थामा केन्द्रित रूपमा लगानी गर्दा बैंक अनावश्यक जोखिममा परेको उल्लेख गरे। विशेष गरी बागमती प्रदेशका केही क्षेत्रमा ५ अर्ब रुपैयाँ बराबरको जोखिम देखिएको बताउँदै उनले अहिले साना तथा सुरक्षित ऋणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। समितिले तयार पारेको २५ बुँदे कार्यदिशाले सुधारको मार्ग खोलिदिएको पनि उनकाे भनाइ थियो।

आगामी नेतृत्वका लागि सन्देश दिँदै गिरीले भने, “हामीले पनि कतिपय कुरा नहेरी तालमेल मात्र गरेका क्षण थिए। अब नयाँ नेतृत्वले त्यस्ता गल्ती दोहोरिन नदिन विगतका कमजोरीबाट सिक्नुपर्छ।” उनले सबै क्षेत्रका प्रोफेशनल तथा अनुभवी व्यक्तिहरू संस्थामा आउँदा सहकारी बैंक अझ सबल हुने विश्वास व्यक्त गरे।

प्रकाशित : 29 November, 2025 7:01 pm