कतारमा अलपत्र ६२५ नेपाली कामदारको उद्दारको लागी एनआरएनए कतारका अध्यक्ष भट्टले भेटे श्रममन्त्री अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कतारमा अलपत्र ६२५ नेपाली कामदारको उद्दारको लागी एनआरएनए कतारका अध्यक्ष भट्टले भेटे श्रममन्त्री अर्याल




काठमाडौ । कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेपछि एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले श्रममन्त्री डिपि अर्याललाई भेटेर कामदारका समस्याका बारेमा जानकारी गराउदै उद्दारको लागि श्रममन्त्री र नेपाल सरकारलाई अनुरोध गरेका छन ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले कामदार अलपत्रका सम्बन्धमा श्रममन्त्री डीपी अर्यालको ध्यानाकर्षण समेत गराएका छन । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले यस समस्या समाधानका लागि सरकारको तर्फबाट पहल थालिसकेको बताएको भट्टको भनाइ छ ।  उनीहरूलाई फर्काउने या के गर्ने भन्ने विषयमा छिट्टै निष्कर्षमा पुगिने मन्त्री अर्यालले बताए ।

श्रमिकहरूलाई समस्यामा पर्न नदिने प्रतिबद्धता जनाउँदै कतारस्थित नेपाली दूतावास र एनआरएनए कतारका साथै कतारी सरकारसँग समन्वय गरेर निष्कर्षमा पुगिने उनको भनाइ थियो । 

सो अवसरमा भट्टले श्रमिकका अन्य विषयमा पनि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री अर्यालले आफू सधै श्रमिकहरु संगै रहेको जनाउदै कामदारका हकहितका आफू जस्तो कदम चाल्न पनि तयार रहेको बताए ।

उक्त भेटघाटमा भट्टसंगै जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले,एनआरएनए कतारबाट दीपक लामिछानेको उपस्थिति रहेको थियो ।

कतारस्थित अल जावर पार्टनर्स कम्पनीले ५ महिनासम्मको तलब नदिएपछि उनिहरू अलपत्र परेका हुन । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको बताए । उनीहरूले पाँचदेखि तीन महिनासम्मको तलब नपाएको भट्टको भनाइ छ । 

‘बस्न त कम्पनीमै बसेका छन् । तर, तलब नपाएको कारणले खानामा समस्या भएपछि हामीले (एनआरएनए कतार) सुरुमा व्यक्तिगतरुपमा र पछि कतारको श्रम विभाग र रेडक्रससँग समन्वय गरी खाद्यान्नको व्यवस्था गरेका छौँ’, उनले भने।

श्रमिकहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन । यदि नियमित तलब दिने ज्ञारेन्टी हुन्छ भने काम गर्न पनि तयारै रहेको उनीहरूको भनाइ छ । विभिन्न मेनपावर कम्पनीमार्फत उक्त कम्पनीमा नेपालीहरू काम गर्न पुगेका थिए । 

कम्पनीले  तलब नदिएपनि श्रमिकहरूले गत अप्रिल १४ देखि काम बन्द गरेको बताइएको छ । आफूहरुको बाध्यताबारे उनीहरूले स्थानीय प्रशासनलाई जानकारी गराउँदै काम रोकेका हुन् ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार १७:१८