एनआईसी एशियाको वित्तीय अवस्था कस्तो? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

एनआईसी एशियाको वित्तीय अवस्था कस्तो?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको नाफामा संकुचन आएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा ५२.३१ प्रतिशतले घटेको देखिएको छ ।

यो अवधिसम्म बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड ८१ लाख रूपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ थियो ।

सो अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत पुगेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १८ पैसा घटेर १७ रुपैयाँ १२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १७:५०