कृषि यान्त्रिकरण प्रदर्शनी सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

कृषि यान्त्रिकरण प्रदर्शनी सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०८३ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। उद्योगमन्त्री दीपक साहले एक समारोहबीच प्रदर्शनीको उद्घाटन गरेका हुन्।
मंसिर ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण तथा आधुनिक प्रविधि प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमा करिब ७० प्रदर्शकका १५० भन्दा बढी स्टल रहेका छन्।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा कृषिसँग सम्बन्धित विभिन्न सरोकारवाला, उद्योगी, कृषि मन्त्रालयका पदाधिकारी, विदेशबाट आएका कृषि विज्ञ तथा कृषि उपकरणका व्यापारी र किसानहरूको बाक्लो उपस्थिति रहेको थियो।

यसपटकको प्रदर्शनीलाई कृषि यान्त्रिकरणको व्यापारिक प्रदर्शनमा मात्र सीमित नराखी कृषि प्रविधि, उद्यमशीलता र किसानका आवश्यकतासँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषिको व्यवसायीकरणका लागि यान्त्रिकरण अपरिहार्य रहेको बताएका छन्। परम्परागत श्रमप्रधान कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन लागत घटाउन र उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रिकरण महत्वपूर्ण हुने उनको भनाइ छ।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, कृषि उपज प्रशोधन, बजारीकरण, कोल्ड स्टोर, नर्सरी तथा बीउबिजनसम्बन्धी प्रविधि प्रदर्शन गरिएको छ।
स्वदेशी कृषि यन्त्र उत्पादकलाई प्रोत्साहन गर्न करिब ३० वटा स्टल निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ। यद्यपि, कृषि क्षेत्रका विभिन्न प्रविधि समेटिए पनि पोल्ट्री र डेरी क्षेत्रका आधुनिक उपकरण तथा प्रविधिको सहभागिता भने अपेक्षाकृत कमजोर देखिएको छ।
प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहेको प्रदर्शनीमा तीन दिनमा ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ।
कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो। बागमती प्रदेश सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक रहेका छन्।

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार ११:०८ 20 November, 2026 11:08 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।