विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ: प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरू र कार्यकारी सदस्यहरूको समेत उपस्थिति रहेको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए ।

उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे । अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए ।

उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए ।

उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए ।

प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको बताए ।

उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताउँदै नेपाल सरकारसँग सहजीकरणको माग गरे ।

महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको एफडीआई हेल्प डेस्क मार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ ।

दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरेका थिए।

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार २०:४६