बीमक संघले २ अर्ब नपाए कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमक संघले २ अर्ब नपाए कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने



नेपाल बीमक संघले कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने निर्णय गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब २ अर्ब बाँकी रहेको भन्दै सो शुल्क प्राप्त नभएसम्म बीमालेख जारी नगर्ने भएको हो ।

संघले चैत १ गतेदेखि उक्त निर्णय कार्यन्वयन गर्ने जनाएको छ । नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको थियो । विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपश्चात मात्र प्राप्त हुने गरेको संघको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

बीमा ऐन, २०७९ अनुसार बीमालेखहरु उधारोमा जारी गर्न नपाइने भएकाले नेपाल सरकार कृषि मन्त्रालय तथा विभागहरुलाई पटक–पटक जानकारी गराएको संघले जनाएको छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १६:०८