ग्रामिण भेगका सहकारीः सूचना प्रविधि क्षेत्रमा अब्बल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

ग्रामिण भेगका सहकारीः सूचना प्रविधि क्षेत्रमा अब्बल



दोलखा । म्यानुअलमै सीमित सहकारीले पछिल्लो समयमा प्रविधि आत्मसात गर्न थालेका छन्। ग्रामिण भेगमा कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका सहकारीहरु पछिल्लो समय एटीएम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा आफु र आफ्ना सदस्यहरुलाई अभ्यस्त बनाउन थालेका छन् ।

ग्रामिण क्षेत्रमा सञ्चालित बचत तथा ऋण सहकारीले सदस्यको मागका आधारमा सहकारीले बैंकले जस्तै सेवा दिन थालेका हुन । सहकारी भन्दासाथ सानो पुँजी, थोरै लगानी, न्यून सदस्य, एक ठाउँबाट मात्र सेवा दिन्छन् भन्ने परम्परागत सोचाइलाई परिवर्तन गर्नकै लागि प्रविधिलाई प्रभावकारी बनाएका हुन्। बैंकमा जस्तै सफ्टवेयरमार्फत डिजिटल कारोबार, एप्स र एसएमएस बैकिङ, अन्तरबैंकिङ सेवा दिएर आफूलाई अब्बल स्थापित गर्न अग्रसर देखिएका छन् ।

सहकारीले सदस्यलाई सजिलो पार्न टेलिफोन, इन्टरनेट, मोबाइल रिचार्जका लागि डिजिटल सेवा उपलब्ध गराएका छन्। बैंकको पहुँचबाहिर रहेका सदस्यलाई आधुनिक बैंकिङ सेवामा जोडेका छन्। एउटा सदस्यले अर्को सदस्यलाई मोबाइलबाटै रकम ट्रान्सफरको व्यवस्था मिलाएका छन्।

मोबाइल बैंकिङ सुविधा, अर्बौं रुपैयाँको कारोबार तथा लगानी, पर्याप्त सेवा केन्द्र (शाखा) लगायतबाट सहकारी संस्थाहरुले सेवा दिएर बैंककै हाराहारीको रुपमा देखिएका छन्।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ५ मा मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारीले ‘प्रविधिमैत्री गुणस्तरीय सेवा, सदस्यलाई टेवा’ भन्ने मुल उद्देश्यका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । सहकारी संस्थाहरु आधुनिक बैंकिङ सेवा दिएर सदस्यलाई सन्तुष्टि प्रदान गरेको जनसचेतन बचत तथा ऋण सहकारीका अध्यक्ष हेमन्त कुमार चाैलागाईले बताए । सहकारीले डिजिटल कारोबारलाई प्राथमिकता दिनुपर्छ। ’केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने उनले बताए।

छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिन सहकारी अब्बल बन्दै गएको जनसचेतन सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताए । ‘हाम्रो सहकारी संस्थाले डिजिटल प्रविधिमार्फत बैकिङ सेवा दिन सक्षम भएको छ,’ दाहालले भने, ‘यही कारण पनि सहकारीको सेवा प्रभावकारी बन्दै गएको छ।’ संस्थाले आफ्ना १६ वटै सेवा केन्द्रबाट आफ्नो छुट्दै इन्टरनेट सेवा स्थापना गरी सदस्यहरुलाई निशुल्क रुपमा अन्तर सेवाकेन्द्र (एबिबिएस) सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

अहिले जनसेतन सहकारीमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरु एक हजार ८ सय नाघेका छन् । सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी देखिएका छन्।

परिवर्तित समय अनुसार बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले डिजिटल कारोबारलाई प्राथमिकता दिएका हुन्। बचत तथा ऋणको कारोबार गर्ने सहकारी प्रविधि प्रयोग गरेर वित्तीय पारर्शितामा अब्बल बन्न अग्रसर भएको सहकारी विभागले जनाएको छ। वित्तीय कारोबार गर्ने सहकारीको लेखा प्रणालीमा एकरुपता कायम गर्न र कारोबारलाई सुरक्षित, चुस्त र पारदर्शी बनाउन सफ्टवेयर तयार गरेर प्रयोगमा ल्याएका छन्।

रामेछाप मन्थलीको नवजागरण बचत तथा ऋण सहकारीले सदस्यहरूको सेवालाई ध्यानमा राख्दै कारोबारको मोबाइलमा म्यासेजबाट जानकारी समेत संस्थाले गरेको छ । यसको आफ्नै एप्स समेत रहेको छ । सोही माध्यमबाट घरमै बसी बसी निःशुल्क ब्यालेन्सको जानकारी, मोबाइल तथा डिश होमको रिचार्ज, मिनी स्टेटमेन्ट, रकम ट्रान्सफर, इन्टरनेट, बिजुलीको बिल भुक्तानी गर्ने सेवाहरू समेत दिने गरिएको छ । प्रविधिमैत्री बन्दै गएको यो सहकारीले क्यूआर कोड, मोबाइल बैकिङ, एटिएम सुविधा पनि प्रदान गरिरहेको छ ।

सहकारी सदस्यले बैंकमा जस्तै खातामा पैसा जम्मा गरेको र निकालेको सूचना मोबाइलको एसएमएसबाट पाउँछन्। बैंकको विकल्पमा सहकारीले सेवा दिएका छन्। कार्यक्षेत्र, सदस्य, पुँजी, कारोबारमा सहकारीले दायरा फराकिलो बनाएका छन्। सहरदेखि गाउँसम्म उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिकको पनि सहकारीमा सहभागिता छ। यसले सहकारीको पहुँच सबै क्षेत्रमा पुगेको छ। सेयर लगानी, बचत संकलन र ऋण लिएर व्यवसाय गर्दा मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ। कारोबार हरेक वर्ष वृद्धि हुँदै गएको छ।

मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारीले पनि सदस्यहरुको सेवालाई ध्यानमा राख्दै डिजिट वित्तीय सेवालाई प्राथमिकतामा राखेको छ। सदस्यहरुलाई थप सेवा प्रदान गर्न संस्थाले एटिएमका साथै मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

‘गुणस्तरीय सेवा सहितको दिगो प्रतिस्पर्धी र उत्कृष्ट वित्तीय सहकारी’को परिकल्पना बोकेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीले प्रविधिमार्फत सदस्यहरुलाई रेमिट्यान्सदेखि बीमाको प्रिमियम भुक्तानीसम्मको सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष भूमिराज खड्काले जानकारी दिए ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार ११:४१