अर्थतन्त्र समस्या मुक्त भइसकेको छैन, पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा चुनौतिहरु देखा परे : अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अर्थतन्त्र समस्या मुक्त भइसकेको छैन, पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा चुनौतिहरु देखा परे : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा चुनौतिहरु देखा परेको बताएका छन् । मंगलबार नेपाली कांग्रेसको महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ विषयक प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री महतले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा चुनौतिहरु देखा परेको बताएका हुन्।

बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको भुक्तानी शिथिल भएको उनले बताएका हुन्। यसले गर्दा खराब कर्जाको अंश बढेको उनको भनाई छ ।

उनले भने ‘बैंक तथा वित्तीय क्षेत्रको वितरणयोग्य मुनाफा घटेको छ।निक्षेष उच्च दरमा संकलन भए अनुरुप कर्जा विस्तार हुन सकेको छैन। तथापि नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिका रहेकोले निकट भविष्यमा यस क्षेत्रको समस्या हल हुँदै जाने अपेक्षा गरिएको छ।’

साथै उनले सहकारी क्षेत्रका साना बचतकर्ताहरुको रकम जोखिममा पर्दै गएको बताएका छन् । सहकारी क्षेत्रको नियामक निकाय गठन गर्ने प्रकृया अगाडि बढाइएकाले त्यसपश्चात समस्या निराकरण हुनसक्ने विषय आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘यसैगरी सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताहरुको रकम जोखिममा परेको छ । सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो।’ उनले भने, ‘यस क्षेत्रलाई साना बचतकर्ताहरुको बचत परिचालन गर्ने महत्वपूर्ण र भरपर्दो क्षेत्रको रुपमा स्थापित गर्नु चुनौतिपूर्ण रहेको छ। सहकारी क्षेत्रको नियामक निकाय गठन प्रक्रिया अघि बढाइएको छ ।’

त्यस्तै, उनले अर्थतन्त्र समस्या मुक्त भई नसकेको भन्दै उनले समष्टिगत आर्थिक परिसूचकहरु अनुकूल भए पनि राजस्वको अपेक्षित वृद्धिदर हासिल हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण रहेको पनि बताएका छन ।

(पूर्णपाठ)

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलवार १८:०७