माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदै, तयारी अन्तिम चरणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदै, तयारी अन्तिम चरणमा



काठमाडाैं । आगामी माघ २५ देखि २९ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मेला हुने भएको हो।

महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्राइभेट लिमिटेड रहेको छ । प्रायोजनका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम “एस पावर क्यान इन्फोटेक २०२४ (S-power CAN Info-Tech 2024) रहेको छ ।

त्यस्तै क्यान इन्फोटेक २०२४ को सहयोगी प्रायोजकमा यचयमसी/दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन्। त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम/ एनटेक र पिएनवइ रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा. लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।

त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा ऱ्याकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, स्मार्ट गेट पार्टनर बारकोट नेपाल सिसिटिभी पार्टनरमा यचयमसी/दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन् ।

प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो (Asian Oceanian Computing Industry Organization), (World Information Technology and Services Alliance) र टीओए सफ्टवेयर कर्प (Toa Software Corp.) को सहयोग रहेको छ ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२३ मा इन्फोटेकको २८ औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो। नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यान इन्फोटेक मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको सर्वविदितै छ। यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू.१०० र विद्यार्थीका लागि रू.५० शुल्क तोकिएको छ ।

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष रु. २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिने जनाएको छ ।

त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ। यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित : १८ माघ २०८०, बिहीबार १५:४०