अनलाइनबाटै व्यक्ति-व्यक्तिबिच ऋण आदान प्रदान गर्न सकिने व्यवस्थाको तयारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अनलाइनबाटै व्यक्ति-व्यक्तिबिच ऋण आदान प्रदान गर्न सकिने व्यवस्थाको तयारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले व्यक्ति–व्यक्तिबिच अनलाइनबाटै ऋण आदान प्रदान गर्न मिल्ने गरी नीति ल्याउने तयारी गरेको छ। केन्द्रीय बैंकले पहिलो चरणमा ‘पियर टु पियर (पिटुपी) ल्यान्डिङ’ र ‘क्राउड फण्डीङ’ को लागि प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन सकेर छलफल अघि बढाउन थालेको हो ।

केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुसरण गर्न खोजेको हो । यसमा केन्द्रीय बैंकले पिटुपी र क्राउड फण्डीङ का लागि छुट्टै प्लेटफर्म तयार गर्नेछ । उक्त अनलाई प्लेटफर्म मार्फत लगानी गर्न चाहने र लगानी लिन चाहने बिचको समझदारी भई लेनदेन हुनेछ ।

यसरी हुने लेनदेन के कस्तो उद्देश्यका लागि गर्न सकिने भन्ने विषमा केन्द्रीय बैंकले तोक्नेछ । त्यसका साथै पिटुपी र क्राउड फण्डीङका मोडेलहरू समेत तय गरी बैंक तथा वित्तीय संस्थाको सहभागिता विना लगानी जुटाउने वैकल्पिक वित्तीय मध्यस्थता विकास गर्न खोजेको केन्द्रीय बैंकले जनाएको छ । उक्त प्लेटफर्म मार्फत इक्विटी लगानी, कर्जा तथा अनुदान सङ्कलनको काम गर्न सकिन्छ ।

केन्द्रीय बैंकको अध्ययन प्रतिवेदन अनुसार पिटुपी ल्यान्डिङ नेपालका लागि नयाँ हो । यस्तो प्लेटफर्म सञ्चालनका लागि प्रभावकारी नियमन तथा अनुगमन र बलियो सुपरीवेक्षणको आवश्यकता हुन्छ । नेपालको सन्दर्भमा उक्त अनलाइन प्लेटफर्मबाट कर्जा लिन चाहने व्यक्तिको सूचना पर्याप्त उपलब्ध नहुने हुँदा जोखिम हुन सक्ने केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार १४:१२