क्यानबेरा । अस्ट्रेलियाको प्रतिस्पर्धात्मक फेसन तथा कपडा बजारमा नेपाली उद्यमी सरोज अर्यालले आफ्नै ब्रान्डमार्फत उपस्थिति जनाउन थालेका छन् ।
नेपालको बुटवलका सूचना प्रविधि (आईटी) विषयका स्नातक अर्यालले स्थापना गरेको ‘कोजिओस्को’ ब्रान्ड नेपाली स्वामित्वमा रहेको र नेपालमै उत्पादन हुने कपडा ब्रान्ड हो ।
यस ब्रान्डको विशेषता भनेको नेपाली डिजाइन र नेपाली कालीगढले तयार पारेका कपडालाई अस्ट्रेलियाली बजारमा पु¥याउनु हो । अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्ने लक्ष्यसहित अर्यालले नेपाली सीप, श्रम र गुणस्तरिय उत्पादनलाई अस्ट्रेलियामा चिनाउने प्रयास गरिरहेका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै अर्यालले माउन्ट कोजिओस्को पदयात्राका क्रममा यो व्यवसाय सुरु गर्ने सोच आएको बताए। अस्ट्रेलियाको सर्वोच्च शिखर कोजिओस्कोको पदयात्रा गर्दा नेपालमा रोजगारी सिर्जना गर्ने र अस्ट्रेलियामा नेपालीहरूलाई स्वरोजगारको अवसर उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गर्ने योजना बनाएको उनको भनाइ छ ।
‘नेपालमा रोजगारी सिर्जना गर्ने र अस्ट्रेलियामा नेपालीलाई स्वरोजगार बनाउने उद्देश्यले यो व्यवसाय सुरु गर्ने सोच आएको हो,’अर्यालले भने ।
ब्रान्डको नाम छनोट गर्नु पनि उनका लागि सहज थिएन। नेपाली नामबाट व्यवसाय दर्ता गर्न खोज्दा धेरै नाम अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायले पहिल्यै प्रयोग गरिसकेका कारण नयाँ र उपयुक्त नाम खोज्न कठिन भएको उनले बताए ।
अन्ततः ‘कोजिओस्को’ नाम छनोट गरिएको हो। अस्ट्रेलियाको प्रसिद्ध हिमालसँग जोडिएको यो नामले नेपाली पर्वतारोहण परम्परा र अस्ट्रेलिया–नेपालबीचको सम्बन्धलाई समेत प्रतिबिम्बित गर्ने अर्यालको विश्वास छ ।
हाल कोजिओस्कोले अस्ट्रेलियाको क्यानबेरास्थित गन्गालिनको एक व्यावसायिक मलको खुला स्थानबाट आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ । सुरुवाती चरणमा सीमित स्थान र स्रोतसाधनका बाबजुद अर्याल भविष्यमा व्यवसाय विस्तार गर्ने योजनासहित अघि बढिरहेका छन् ।
उनका अनुसार अस्ट्रेलियाली ग्राहकबाट पनि उत्पादनप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । नेपाली उत्पादनको गुणस्तर र मूल्यलाई ग्राहकले रुचाउन थालेको उनको अनुभव छ ।
क्यानबेराका स्थानीय ग्राहक नाथन रोले आफूले कोजिओस्कोको ज्याकेट खरिद गरेको बताउँदै यसको गुणस्तर राम्रो र मूल्य पनि किफायती रहेको प्रतिक्रिया दिए ।
नेपालमै डिजाइन र उत्पादन गरेर अस्ट्रेलियाको बजारमा बिक्री गर्ने आर्यको प्रयास नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने सम्भावनासँग जोडिएको छ ।
नेपालमा उत्पादन, नेपाली कालीगढको सीप र अस्ट्रेलियामा बजार विस्तारलाई एउटै व्यावसायिक अवधारणामा जोड्दै अघि बढेको कोजिओस्कोले नेपाली उद्यमशीलताको एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ ।






प्रतिक्रिया