काठमाडौं । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत धुलिखेल अस्पतालमा १० शैयाको नबिल बर्न केयर वार्ड स्थापना गरेको छ ।
नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनःस्थापना सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको वार्डको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा गरका हुन् ।
अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै स्वास्थ्य पूर्वाधारको विकासमार्फत दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा जलनका घटना जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा रहेको उल्लेख गर्दै बैंकले यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारसँगै विशेषज्ञ चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनःस्थापना र मनोसामाजिक सहयोग आवश्यक पर्ने जनाएको छ । नयाँ वार्डले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ ।
बैंकले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । ती कार्यक्रमलाई थप विस्तार गर्दै अस्पतालमा स्थायी उपचार पूर्वाधार निर्माण गरिएको बैंकले जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ मनोज कुमार ज्ञवालीले विशिष्टीकृत जलन उपचार सेवामा पहुँच विस्तार गर्न सहकार्यको महत्व औंल्याउँदै, यस वार्डले गुणस्तरीय उपचार आवश्यक भएका बिरामीहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । वार्डको स्थापनालाई नबिल केयरअन्तर्गत सञ्चालन भइरहेका निरन्तर प्रयासहरूको महत्वपूर्ण कडीको रुपमा लिएको उनले बताए । नबिल बर्न वार्ड जलनका बिरामी तथा उनीहरुका परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास सिइओ ज्ञवालीले व्यक्त गरे ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा.माकजुले पनि यो सहकार्य नेपालमा विशेषज्ञ जलन उपचार सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदम भएको बताए । वार्डले जलन पीडितलाई गुणस्तरीय उपचार तथा पुनःस्थापनाको अवसर प्रदान गर्ने उनको विश्वास छ ।
नबिल बर्न केयर वार्ड एउटा स्वास्थ्य सुविधा होइन, उपचार, आशा र पुनर्निर्माणको केन्द्र भएको बैंकले जनाएको छ । नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको पहुँच विस्तार गर्दै, प्रत्येक जलन पीडितलाई गुणस्तरीय उपचार र नयाँ जीवनको अवसर दिलाउने दिशामा यो एउटा महत्वपूर्ण कदम रहेको बैकले जनाएको छ ।






प्रतिक्रिया