१६औँ योजनाका लागि राजनीतिकदलसँग लियो आयोगले सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

१६औँ योजनाका लागि राजनीतिकदलसँग लियो आयोगले सुझाव



काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदा उपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो ।

सुझाव छलफल कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपामा ओवादी केन्द्रीका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्मा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एवं पूर्वमन्त्री पदम गिरी, एमाले सचेतक महेश बर्तौता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका दल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दलका प्रतिनिधिहरुले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरु १६औँ योजनामा समावेश गर्न सुझाव दिएका छन् । छलफलमा आयोगका सबै सदस्यहरु, सदस्य सचिव र अन्यअधिकारीहरु सहभागीथिए । आयोगका सहसचिव महेश भट्टराईले १६औँ योजना सम्बन्धी प्रस्तुतिकरण राखेपछि छलफल प्रारम्भ भएको थियो ।

यसअघि आइतबार नै आयोग सदस्य डा. जयकान्त राउनको अध्यक्षतामा प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरुसँग सुझाव लिइएको आयोगका प्रेस सल्लाहकार रोयल आचार्यले जानकारी दिए । संसदीय समितिका सभापतिहरूले योजनालाई यथार्थ परक र कार्यान्वयन योग्यबनाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्धि हासिल गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जैविक तथा सामाजिक विविधतालाई सम्बोधन गर्दै कृषि, वन, सिमेन्ट तथा फलाम जन्य उद्योग, निर्माण लगायतका क्षेत्रमा केन्द्रिय रहनुपर्ने धारणा सभापतिहरुको थियो ।

प्रकाशित : १५ माघ २०८०, सोमबार १३:०१