माछापुच्छ्रे बैंकको नाफा ८० करोड, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको नाफा ८० करोड, अन्य सूचक कस्तो ?



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.१९ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार ०७:४२