क्यानडा पढ्न आएका एक विद्यार्थीलाई उद्धार गरि नेपाल पठाइयो, विद्यार्थीलाई काम पाउनै मुस्किल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

क्यानडा पढ्न आएका एक विद्यार्थीलाई उद्धार गरि नेपाल पठाइयो, विद्यार्थीलाई काम पाउनै मुस्किल



टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीको उद्धार गरि नेपाल पठाइएको छ । गैरआवासीय संघ (एनआरएनए) क्यानडाको पहलमा उनको उद्धार गरि नेपाल पठाइएको हो ।

सिदार्थनगर नगरपालिका-८, बुद्धपथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचे जस्तो काम नपाएपछि डिप्रेसनमा परेका थिए । करिब १ वर्षअघि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार राम्रो भए पनि पछि उनी डिप्रेसनमा पर्दै गएको मानन्धरले बताए ।

कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्धार गरेका थिए ।

एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि मंगलबार साहिललाई नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन पहल गरेका थिए । साहिल बुधबार बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल : एनआरएनए क्यानडा

एनआरएनए क्यानडाले विद्यार्थीले काम पाउन समस्या रहेको जनाएको छ । ‘क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयाबह छ । तपाईं हामीले सोचेको भन्दा पनि धेरै’ , एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने । जसले नेपालमा हुँदा खानासम्म बनाउन परेन उनीहरु गम्भीर समस्यामा रहेका हुन् ।

‘एउटा ठूलो सपना बोकेर नेपाल छोडि आएका छन् । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिव २५ लाख रुपैयाको ऋणको बोझले गर्दा समस्या हुन्छ’ उनले भने ।

बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न ‘काम पाइस् कि नाई’ ले क्यानडा पुगेकालाई थप समस्या दिएको उनको भनाइ छ । ‘अर्को तिर कलेजको फी तिर्नुपर्ने दिन नजिकिँदै गर्दा क्यानडा आएका कतै तपाईं हाम्रा छोरा छोरी भाई बहिनी भान्जा भान्जी टाउको भरि येत्रो समस्या बोकेर हिँड्दा मानसिक समस्या मा त छैनन् रु’

उनले भने, ‘उनीहरु लाई खाना खायो कि खाएन , पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौ जागिर को तनाब नदिँउ, जागिर पाए पछि गर्छन उनि हरुलाई झनै पिर छ आफ्नो भविष्यको ।’

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागि क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । ‘विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं,’ उनले बताए ।

क्यानडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमति नरहेको उनले बताए । हप्ताको २० घण्टामात्रै काम गर्न पाउने क्यानडा सरकारको नियम रहेको उनले जानकारी दिए ।

‘काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन्, पढाइको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ,’ अध्यक्ष दुलालले भने,’करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केहि काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिवावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन् ।’ यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको दुलालले बताए ।

प्रकाशित : ३ माघ २०८०, बुधबार १६:१५