यी ६ कम्पनीको साधारण सभा हुँदै, कुनको के-के छ एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी ६ कम्पनीको साधारण सभा हुँदै, कुनको के-के छ एजेन्डा ?



काठमाडौं । विभिन्न ६ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । नेको इन्सुरेन्स कम्पनी, हिमालयन लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आयोजना गरेका हुन् । यी मध्ये १ वटाले पुसमा साधारणसभा गर्ने भएकाे छ भने बाकी ५ वटाले माघमा गर्ने निर्णय गरेका छन् ।

नेको इन्सुरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । इन्सुरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । माघ १ गते माघेसंक्रान्तिको दिन सरकारले सार्वजनिक बिदा दिएकाले सेयर कारोबार हुँदैन ।

हिमालयन लघुवित्तको बुधबार पुस २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यो पटक लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको छ । सोही कारण यसपटक यस कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस २९ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले अब माघ १३ गते साधारण सभा गर्ने भएको छ । यसअघि पुस २१ गते बोलाइएको एजीएम प्राविधिक कारणले सरेको कम्पनीले जनाएको छ । सभा वैभव पार्टी भेन्यू मैतिदेवि, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । कम्पनीले मंसिर २८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनछन् ।

हिमालयन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । हिमालयन लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले साविकका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आव २०७८/७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस्तै, बैठकले वार्षिक साधारण सभाको मिति पनि तय गरेको छ । साधारण सभा माघ १८ गते सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि माघ ३ गते बुक क्लोज हुनेछ । तसर्थ, माघ २ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौँ वार्षिक साधारणसभा माघ ११ गते बिहीबार हुने भएको छ । सभा काठमाडौंको नम्सालमा रहेको अग्रपाली बैंक्वेट भाटभटेनीमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । पूनः सुजन काफ्लेलाई नै नियुक्ति गर्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यसका साथै सञ्चालक समितिको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ । जसमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना निर्वाचित हुने छन् । सर्वसाधाण समुहका तर्फबाट निर्वाचनमा भाग लिन कम्तीमा कम्पनीको एक सय कित्ता शेयर किनेको हुनुपर्ने कम्पनीले जनाएको छ । त्यसका साथै कम्पनीले सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने समेत विषेश प्रस्ताव समेत गरेको छ । सभा प्रयोजनका लागि बुक क्लोज पुस २६ गते एक दिन बन्द हुनेछ ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १२:१८