सहकारीको पैसा कहाँ गयो ? भन्ने बहस आजको आवश्यक्ता हो । पछिल्लो समय सहकारीमा मात्र होइन सिंगो वित्तिय क्षेत्र नै संकटको अवस्थामा छ । केही संस्थाहरुको बदमासीका कारण सहकारीमा समस्या आएको छ । विश्वासको संकट देखिएको छ । वचत फिर्ता लिन आउनेक्रम बढेको छ ।
विशेषगरी शहरी क्षेत्रमा यसको प्रभाव छ तर ग्रमिण इलाकामा त्यति धेरै समस्या देखिदैन । यतिबेला उत्पादन, व्यवसाय, रोजगारी सबैतिर ठप्प छ । अब कुरा रहयो सहकारीको सवाल । सहकारीहरुले सदस्यमा लगानी गर्ने हो । सहकारीले मुल सिद्धान्तभित्र रहेर काम गर्ने हो । तर केही संस्थाहरु बदमास देखिए ।
तीन महिना अध्ययन गरेर हेर्दा हामीले धेरै कुरा पत्ता लगाएका छौं । शिव शिखरकै कुरा पनि आयो । विदेशमा लगानी गरेको कुरा छ ।
विभिन्न कम्पनीहरुमा लगानी गरेको कुरा आएको छ । वास्तवमा सहकारीको मुल्य सिद्धान्त भनेको सदस्यहरुको शेयर र सदस्यहरुकै बचत संकलन गर्ने हो । सदस्यहरुलाई नै लगानी गरेर आय आर्जन र उत्पादनमुलक काममा लगाउने हो । केही संस्थहरु मिलेर विशिष्टीकृत ढाँचामा रहेर उद्यम व्यवसायका क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छ ।
यद्यपी, यतिबेला सबैतिर वित्तिय संकट छ । अर्थतन्त्रको संकट विश्वव्यापी रुपमै छ । केही दिन अघि प्रधानमन्त्रीसहितको बैठकमा केही सकरात्मक सुचाङ्गहरु देखिएको तथ्य बाहिर आएको छ । तर त्यो व्यवहारमा देखिएको छैन । सदस्यहरुमा लगानी गरेको पैसा पनि फिर्ता गर्न सकेको अवस्था छैन ।
सदस्यहरुको व्यवसाय, उद्योग घन्दा ठप्प भएकाले लगानी फिर्ता हुन सकेको छैन । अहिले असल ऋणिहरुले बचत फिर्ता गर्न सकेका छैनन् । अर्कोतिर दिनप्रतिदिन अर्थतन्त्रमा देखिएको संकटले गर्दा तरलताको पैसा फिर्ता हुन सकेको छैन । कसैले बैंकमा लगेर थन्काए होलान वा घरमा लगेर थन्काए होलान ।
सिंगो वित्तिय क्षेत्रबाटै ठूलो परिणाममा नोट गायब भएको हो कि भन्ने चर्चा पनि छ । बैंकमा पनि विश्वास नभएका कारण घरमा लगेर थन्काएको हो कि भन्ने पनि अनुमान छ । सरसरी हेर्दा सहकारी क्षेत्रमा पनि विश्वव्यापी संकट र केही बदमास सहकारी संस्थाका कारण विश्वासको संकट देखिएको हुनसक्छ । त्यस कारण शहरी क्षेत्रमा तरलताको समस्या छ तर ५० भन्दा बढी जिल्लामा ठूलो समस्या देखिएको छैन । तरलताको समस्या देखिदैन ।
केही क्षेत्रीय संस्थाहरुमा समस्या देखिए पनि ग्रामिण इलाकामा सहकारी क्षेत्रमा बाहिर हल्ला आएजस्तो समस्या छैन । तर त्यहाँ पनि लगानी गरेको पैसा उठेको छैन र अरु ऋण परिचालन गर्न सकेको छैन । यसलाई सिंगो अर्थतन्त्रमा देखिएको संकटका रुपमा बुझनुपर्छ । देखिरहेका छौं धेरै युवाहरु रोजगारी र अध्ययनका लागि विदेश गइरहेका छन् । विदेशमा ठूलो परिणाममा पुँजी पलायन भइरहेको छ । सहकारी वा बैंक वित्तबाट पुँजी पलायन भएको देखिन्छ ।
हामीले गएको भदौ २६ गते बुझाएको प्रतिवेदनमा पनि यि समस्याहरु सम्बोधन गरेका छौं । तत्काल गर्नुपर्ने १३ बुँदा, अल्पकालमा गर्नुपर्ने १३ बुँदा र दिर्घकालमा गर्नुपर्नेसहित ३३ बुँदामा मुद्दाहरु प्रतिवेदनमा उल्लेख गरेर प्रधानमन्त्रीलाई बुझाइसकेका छौं । त्यसका केही कामहरु बल्ल शुरु भएको छ ।
विशिष्टिकृत किसिमको नियामक निकाय बनाउने कुरा र बचत तथा कर्जा सूचना कोष स्थापना गर्ने कामको प्रक्रिया अघि बढेको छ । नगरपालिका क्षेत्रमा बचत तथा ऋण सहकारी संस्था दर्ता रोक्ने हाम्रो प्रयासको सम्बोधन भएको छ । सहकारी विभागले स्वेतपत्र जारी गरेर आफ्नो सम्पत्ती दायित्व यकिन गरेर सदस्यहरुको विश्वास जित्ने काम प्रारम्भ भएको छ ।
वास्तवमा यतिबेला सहकारी क्षेत्रमा देखिएको तरलताको संकट र केही संस्थाहरुको बदमासीका कारण विश्वासको संकट देखिएको स्वीकार्न सकिन्छ । यसका लागि राज्यले धेरै काम गर्नुपर्ने देखिन्छ । हामीले पनि सहकारीहरुको विश्वास जित्ने सवालमा काम गरिरहेका छौं । यि सबै काम गर्न सकियो भने तीन खम्बे अर्थनीतिका रुपमा रहेको सहकारी फेरि लयमा फर्किन सक्छ । यहाँ केही प्रश्नहरु पनि आएका छैनन । साँच्चै समस्या भएका समस्याग्रस्त सहकारीहरु संस्थाहरुको घोषणा भइसकेको छ । तर यतिबेला एकै पटक बचत फिर्ता लिन आउँदा समस्या देखिएको छ ।
बहुउद्देश्यहरुको फरक खाले समस्या छ । हामीले भन्ने भनेको नियमित साधारण सभा गर भनेर निर्देशन दिने हो तर स्टे अर्डर ल्याएर काम गर्ने गरेका छन् ।
कानूनी प्रक्रिया एकदमै झन्झटिलो भएकाले समस्याहरु आएका हुन । यसका लागि नियमक निकायले नै काम गर्ने हो । यद्यपी, हामी सदस्यहरु, संचालकहरु, कर्मचारीहरु जिम्मेवार बन्नुपर्छ । विशेषगरी नियमक निकाय बढी जिम्मेबार बन्नुपर्छ ।
(हिमशिला मिडिया प्रालिले २०८० मंसिर १५ गते शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका अध्यक्षले राखेको धारणा )
Comment