वैदेशिक रोजगारमार्फत उठ्ने बीमाशुल्क एक महिनामा १३.६६ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगारमार्फत उठ्ने बीमाशुल्क एक महिनामा १३.६६ प्रतिशतले घट्याे



काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमामार्फत ८९ करोड ८ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क अनुसार कुल सक्रिय १७ लाख ८५ हजार ५७३ वटा बीमालेख मार्फत सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

कात्तिक महिनामा मात्रै वैदेशिक रोजगार बीमाबाट ४८ हजार ४२० वटा बीमालेख बिक्री गरी २० करोड ५१ लाख १२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत असोज महिनाको तुलनामा १३.६६ प्रतिशतले घटेको छ । गत असोज महिनामा ५७ हजार ३७८ वटा बीमालेखमार्फत २३ करोड ७५ लाख ७१ हजार रुपैंया बराबरको बीमा शुल्क संकलन गरेका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू अनिवार्य रूपमा म्यादी बीमा गर्नुपर्दछ । पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।

चार महिनामा सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले आर्जन गरेको छ । कात्तिक मसान्तसम्ममा कम्पनीले वैदेशिक रोजगार बीमाबाट २१ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको ७ लाख ३५ हजार ४८५ वटा बीमालेख सक्रिय देखिएको छ ।

यस्तै, नेपाल लाइफले पनि २० करोड १५ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमाबाट सङ्कलन गरेको छ । कम्पनीमा ३ लाख ६ हजार ४९९ वटा बीमालेख सक्रिय देखिएको छ ।

समीक्षा अवधिमा आइएमई लाइफले ११ करोड ९ लाख, नेशनल लाइफले ७ करोड ८ लाख, सूर्यज्योतिले ६ करोड ६८ लाख , एशियनले ६ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमाबाट उठाएका छन् । यी कम्पनीहरूमा क्रमशः १ लाख ३७ हजार ९० वटा, ४९ हजार ५०८ वटा, २ लाख ७६ हजार ६०५, २२ हजार ९२५ वटा वैदेशिक बीमालेख सक्रिय देखिएको छ।

त्यसैगरि चालु आवको चार महिनामा रिलायवल नेपालले ५ करोड ८९ लाख, सानिमा रिलायन्सले ५ करोड ७६ लाख, सिटिजनले ४ करोड २० लाख र प्रभु महालक्ष्मी लाइफले १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यी कम्पनीहरूमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको क्रमशः ५६ हजार २०३, ७६ हजार ८७८, १ लाख १९ हजार १६४ र ५ हजार २१६ वटा बीमालेख सक्रिय छन् ।

प्रकाशित : १४ मंसिर २०८०, बिहीबार १७:२१