तीन महिनामा मूल्यवृद्धि घट्याे, कुन क्षेत्रको कति ? (पुर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन महिनामा मूल्यवृद्धि घट्याे, कुन क्षेत्रको कति ? (पुर्णपाठसहित)



काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मूल्यवृद्धि घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १ प्रतिशत मूल्यवृद्धि घटेर ७.५० प्रतिशतमा झरेको हो। गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।

यसैगरी खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।

यस्तै, असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार १७:२३