भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

यो समाचार सुन्नुहोस्0:00 / --:--

भोजपुर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ । प्राधिकरणले विद्युतीकरण पुग्न सकेको जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, गैरीगाउँमा विद्युतको पहुँच पुर्याएको छ । 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुर अन्तर्गत ११ केभी प्रशारण लाइनबाट २५ घर परिवारमा विद्युत लाइन बल्न सुरु भएको प्राबिधिक कर्मचारी काजीमान राईले जानकारी दिए । 

उनले प्राधिकरणबाट लगेका २५ मिटर स्थानीयको घरमा जडान भई सकेको बताए । त्यहाँ नयाँ ट्रान्सफरमर जडान गरी विद्युत सेवा सुचारु गरिएको हो । 

विद्युतको पहुँच पुगेसँगै स्थानीयले खुशी महशुस गरेका छन् । ‘गाउँमा अहिले बिजुली पुगेपछि झिलिमिली भएको छ, बर्षौदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरुलाई खुशी लागेको छ,’ स्थानीय भद्र कुमारी सार्कीले भनिन् । 

नेपाल विद्युत प्राधिकरण भोजपुर वितरणले ग्रामीण क्षेत्रहरुमा पूर्ण विद्युतीकरणका लागि टेण्डर प्रक्रिया मार्फत कामहरु हुने गरेको जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख निरज कुमार साहले विद्युतीकरण हुन बाँकी रहेका पालिकाका नागरिकहरुलाई पनि बिजुली पुर्याउन प्राधिकरणले काम गरिरहेको बताए । 

भोजपुरका नौ वटा स्थानीय तहमध्ये आमचोक र साल्पासिलिछो क्षेत्रमा पूर्ण विद्युतीकरण हुन बाँकी छ । भोजपुरमा हाल ३३ तथा ११ केभी राष्ट्रिय प्रशारण लाइनबाट ३२ हजार बढी घरधुरीले विद्युत सेवा उपयोग गरिरहेका छन् । 

प्रकाशित : ११ मंसिर २०८३, शुक्रबार २१:१८ 27 November, 2026 9:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।