एनआरएनए कार्यालयमा युवा संघका कार्यकर्ताले पत्रकार कुटे, विवाद उत्कर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनए कार्यालयमा युवा संघका कार्यकर्ताले पत्रकार कुटे, विवाद उत्कर्षमा



काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका अभियन्ता एवम पत्रकार ओम शर्मालाई एनआरएनएको मुख्यालय वालुवाटारमा एमाले निकट युवा संघका कार्यकर्ताले हातपात गरेका छन् ।

एनआरएनए विभाजित समूहका अध्यक्ष डा।बद्री केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरु सहभागी भएको कार्यक्रममा पुगेका चारदिशा अनलाइनका सम्पादक शर्मालाई बुधबार दिउँसो युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

बेल्जियम निवासी शर्मा एनआरएनए अभियन्ता तथा नेपाल पत्रकार महासंघका बेल्जियम अध्यक्ष समेत हुन । शर्माको दाँतमा चोट लागेको छ । त्यस्तै मुख्यालयमा पुगेका संघका अध्यक्ष आरके शर्मा लगायतका अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको शर्माले जानकारी दिए । उनले आफू घटनाका बीच उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको बताए ।

‘एनआरएनए मुख्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको के कार्यक्रम हो ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो,’ पत्रकार शर्माले भने । विवादपछि शर्मा पक्षले घटनामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न महानगरीय वृत्त दरबार मार्गमा उजुरी दिएको छ।

घटनापछि एनआरएनए मुख्यालयमा अहिले प्रहरी पुगिसकेको छ भने तनाव साम्य भएको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका छन् । केही साताअघि काठमाडौंको सोल्टी होटलमा भएको एनआरएनएको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानमा धाँधली भएपछि आरके शर्मा र डा.बद्री केसीले समानान्तर गतिविधि गरिरहेका छन् । विवाद बढ्न थालेपछि सरकारले एनआरएनएको कार्यालय आफ्नो नियन्त्रणमा राख्ने तयारी थालेको छ ।

अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम अस्वीकार गरेका छन् भने डा.केसीले आफू अध्यक्षमा विजयी भएको भन्दै शपथ लिइसकेका छन् । दुई साताभित्र मतदानमा भएको त्रुटीबारे अनुसन्धान गर्ने र त्यसपछि बाँकी प्रक्रिया अघि बढाउने सहमति विपरित डा.केसीले शपथ लिएपछि एनआरएनए विभाजित अवस्थामा छ ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १८:३३