दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही



दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ ।

दमौलीबाट काठमाडौं छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ ।

दमौलीबाट काठमाडौंसम्मको भाडा छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजारसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, “दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफै चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।”

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार १४:१५