बलिया अभियन्ताहरुको साथ लिएर महेश श्रेष्ठले एनआरएनए अध्यक्षमा गराए उम्मेदवारी दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बलिया अभियन्ताहरुको साथ लिएर महेश श्रेष्ठले एनआरएनए अध्यक्षमा गराए उम्मेदवारी दर्ता



काठमाडौं । मंगलबार(भोलि)बाट काठमाडौमा शुरु हुने गैर आवासीय नेपाली संघ एनआरएनए को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीका अन्य बलिया र प्रभावशाली उम्मेदवारहरुको साथ लिएर सोमबार विहान उनले उम्मेदवारी दिएका हुन ।

सोल्टी होटलमा राखिएको निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गरे । उनले भने,‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ ।’

अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दिपक रेग्मी थिए भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनालले हस्ताक्षर गरेका छन् ।

एनआरएनए रुपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाइरहेका छन् । केही साताअघि कोरिया भ्रमणमा रहेका बेला असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरलाई पनि श्रेष्ठ समूहले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सामेल गराएका थिए ।

त्यसक्रममा श्रेष्ठले आफ्नो सम्बोधन गर्ने क्रममा एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गरिसकेका छन् । शेष घले समूहसँग आन्तरिक छलफलमा रहेका श्रेष्ठले घलेका शुभेच्छुकहरु आफ्नो पक्षमा रहेको प्रतिक्रिया दिंदै आएका छन् । विशेषगरी लोकतान्त्रिक समू र आदीबासी जनजाति समूदायका बहुसंख्यक डेलिगेट्सहरु श्रेष्ठको पक्षमा उभिएका छन् ।

त्यस्तै अध्यक्षका प्रत्यासी रविना थापा र विनय अधिकारीले पनि श्रेष्ठलाई साथ दिनसक्ने संकेत गरेका छन् । पूर्वअध्यक्ष र संस्थापकहरु संघमा विवादरहित नयाँ अनुहारलाई नेतृत्वमा ल्याउनुपर्ने जोडबलमा लागेका छन् । एनआरएनएको ११ औं महाधिवेशनका लागि अध्यक्षमा हालका कार्यकारी अध्यक्ष डा।बद्री केसी र उपाध्यक्ष आरके शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । महाधिवेशन असोज ३ गतेदेखि कार्तिकको ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदैछ । महाधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १४:१७