राजनीतिक दलहरुसँग विदेशमा बस्ने नेपालीको ठूलो अपेक्षा छ: कुल आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

राजनीतिक दलहरुसँग विदेशमा बस्ने नेपालीको ठूलो अपेक्षा छ: कुल आचार्य



काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले नेपालका राजनीतिक दलहरुबाट विदेशमा बस्ने नेपालीले ठूलो अपेक्षा गरेको बताएका छन् ।

संसदीय राजनीतिमा नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले विहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले सामाजिक सुरक्षा कोषमा विदेश जाने नेपालीले जम्मा गर्ने सातसय रुपैयाँ अलि बढी भएको पनि बताए । नियमित सात सय रुपैयाँ जम्मा गर्दा त्यसको सेवा सुविधा भने कम रहेको बताउँदै यतातर्फ ध्यानाकषर्ण गराए ।

साथै आचार्यले २०८४ सालको चुनावमा आफूहरुले विदेशबाट मत हाल्ने व्यवस्था मिलाउनका लागि पहल गर्नका लागि रास्वपाको ध्यानकर्षण पनि गराए । उनले भने ‘नागरिकताको कुरा सम्बोधन भएको छ, अब मत हाल्ने व्यवस्था मिलाउनु पर्छ, तपाईंहरुबाट जनताले धेरै अपेक्षा गरेका छन्, २०८४ को चुनावमा समानुपातिकतर्फ मत दिँन पाउने व्यवस्था गर्न जरुरी छ ।’ ‘रास्वपालाई बाहिर बसेका नेपालीहरुले धेरै माया गरिरहेका छन्, २०८४ को चुनावमा भोट हाल्ने व्यवस्था गरियो भने अझ धेरै माया गर्ने छन् ।’ अध्यक्ष आचार्यले भने । अहिले सरकारले बाहिर बसेका नेपालीहरुलाई नेपालसँग जोड्नका लागि सकारात्मक काम गरिरहेको बताउँदै त्यसका लागि धन्यवाद पनि दिए ।

यसैगरी आचार्यले एनआरएनएको विश्व सम्मेलन तथा निर्वाचनको संघारमा रहेको बताउँदै दशौं सम्मेलन विविध कारणले सहमति गर्दा सकारात्मक सन्देश नगएको संकेत गर्दै आउँदो निर्वाचन सफल बनाउनका लागि रास्वपाले पनि सहयोग गर्नु पर्नेमा जोड दिए

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार १३:३६