विदेशमा रहेका नेपालीहरुका लागि अनलाइनबाटै मतदाता नामावली संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विदेशमा रहेका नेपालीहरुका लागि अनलाइनबाटै मतदाता नामावली संकलन



काठमाडौं । विदेशमा रहेका नेपालीहरुका लागि मतदाता नामावली संकलन गरिने भएको छ । निर्वाचन आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणाली मार्फत फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिन भनिएको छ ।

विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ूविदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मसौदा पनि आयोगको वेभसाइटमा राखिएको जनाइएको छ ।

मसौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था रहेको र दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

मस्यौदाका बारेमा सुझावका लागि भने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूले मिति २०८० कार्तिक मसान्त भित्र आयोगको इमेल ठेगानामा पठाउन भनिएको छ ।

‘जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा रहेको छ। यसरी दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार १३:१२