सोनापुर मिनरल्सकाे आइपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोनापुर मिनरल्सकाे आइपीओ बाँडफाँट



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो।

कम्पनीको आइपीओमा १० लाख ४७ हजार ४५९ जनाले कुल एक करोड २० लाख ६९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए जसमध्ये पाँच हजार ६ सय ८९ जनाको आवेदन रद्ध भएको छ। त्यसकारण १० लाख ४० हजार ७७० योग्य आवेदकमा सेयर बाँडफाँट भएको छ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई एक कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७‍.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको छ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।

कर्मचारीहरुले खरिद नगरेको पाँच लाख ८८ हजार ७८४ कित्ता सेयर पनि थप गरेर कुल एक करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सोनापुर मिनरल्स एन्ड आयलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np साथै https://nepsebajar.com/iporesult/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार ११:३७