नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी



काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ गतेको मन्त्रीस्तरको निणर्य अनुसार पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।

उनले यसअघि कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्दामा परेसँगै उनी निलम्बनमा परेका छन् । त्यसैकारण मन्त्रालयले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा पहाडीलाई तोकेको छ ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. अध्ययन गरेकी छन् ।

२०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १६:४९